कांग्रेस सभापतिमा उम्मेदवारी दिने गोपालमान श्रेष्ठको घोषणा

कास्की,१६ भदौ कांग्रेसका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पार्टीको १४ औं महाधिबेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेस स्याङ्जाले जिल्ला सदरमुकामस्थित पार्टी कार्यालयमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले गुटको अन्त्यसँगै नेपाली कांग्रेसलाई देशकै ठूलो दल बनाउन आफू उम्मेदवार बन्न लागेको बताए ।

कांग्रेसलाई सबैको पार्टी बनाउन हिमाल, पहाड र मधेसमा बस्ने आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यकलाई एक साथमा लिएर अगाडि बढ्ने उनको प्रतिवद्धता छ । उनले भने, ‘सबै क्षेत्र, वर्गलाई पार्टीमा प्रतिनिधित्व गराउने पहिलो दल नेपाली कांग्रेस हो । सनातन धर्मसहितको धार्मिक स्वतन्त्रता हाम्रो एजेन्डा हो ।’

जन्मभूमि स्याङ्जाबाट श्रेष्ठले सभापतिमा उम्मेदवारी घोषण गरेका हुन् । उनले वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूलाई साथ दिनुपर्ने बताए । देउवाको सक्रियता भएमा आफू सर्वसम्मतिमा सभापति बन्न सक्ने उनको भनाइ छ ।

२०१६ मा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका श्रेष्ठ चारपटक मन्त्री बनिसकेका छन् । उनी पार्टी उपसभापति हुँदै २ वर्ष कार्यवाहक सभापतिको जिम्मेवारीमा रहिसके । श्रेष्ठले ०६१ मा देउवा जेल पर्दा काव सभापति भई ११ औं महाधिवेशन गराएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board