तालिबानले भन्यो, नयाँ सरकारमा महिला पनि समावेश हुनेस तीन दिनभित्र घोषणा गरिने

कतारमा अफगान तालिबानको राजनीतिक कार्यालयका उप–प्रमुख र वार्ता दलका सदस्य शेर मोहम्मद अब्बास स्टानिकजईले अफगानिस्तानमा तीन दिन भित्र नयाँ सरकारको घोषणा गर्ने जानकारी दिए ।बीबीसी पश्तो रेडियोसँग एक विशेष साक्षात्कारमा उनले नयाँ सरकारमा २० वर्षदेखि सरकारमा भएका मानिसहरुलाई समावेश नगरिने पनि बताए ।

उनले भने, ‘यसमा कुनै शंका छैन कि अफगानिस्तानको इस्लामी इमिरेट्सले एउटा यस्तो सरकार बनाउनेछ जसलाई अफगानिस्तान भित्र र बाहिर दुबैबाट समर्थन प्राप्त हुनेछ ।’उनका अनुसार यो एउटा समावेशी सरकार हुनेछ र सबैको प्रतिनिधित्व गर्नेछ ।

उनले स्पष्ट शब्दमा भने, ‘पछिल्लो २० वर्षदेखि जुन अनुहार कुनै न कुनै रुपमा सरकारमा बसिरहेका छन्, त्यो नयाँ सरकारमा हुनेछैन ।’अब्बास स्टानिकजईले आफ्नो सरकामा पवित्र र शिक्षित मानिसहरु समावेश हुने बताए ।यसअघि तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदको तर्फबाट जारी एक बयानमा भनिएको थियो, ‘नयाँ सरकारको गठनबारे चर्चा गर्नका लागि हाम्रा नेता मुल्ला हबिबुल्लाह अखुंदजादाको अध्यक्षतामा तीन दिवसीय बैठक कंधारमा सम्पन्न भएको छ ।’शेर मोहम्मद अब्बास स्टानिकजईले साक्षात्कारमा उनको सरकारमा महिलालाई पनि समावेश गर्ने बताए ।

उनले भने, ‘यसमा कुनै शंका छैन कि नयाँ सरकारमा ठूलो संख्यामा महिला हुनेछन् तर उनीहरु वरिष्ठ पदमा हुने छन् वा छैनन् भनेर स्पष्ट जानकारी छैन ।’

अब्बास स्टानिकजईले उनको सरकारमा महिलाको विषयमा समस्या नभएको र महिलाले अफिसमा काम गर्न सक्ने दाबी गरेका छन् ।

काबुलमा बीबीसी अफगान सेवाका सम्पादक इनायत–उल–हक यासिनीले के अन्तरराष्ट्रिय समुदायले यस्तो सरकारलाई मान्यता देला भनेर प्रश्न सोधे ।

यसबारे अब्बास स्टानिकजईले भने, ‘हामीलाई विश्वास छ कि सबैले यो सरकारलाई मान्यता दिनेछन् किनभने २० वर्षपछि अफगानिस्तनमा शान्ति स्थापित भएको छ र अर्को एउटा सरकार बनिरहेको छ । साथै, अफगानिस्तान भरी कुनै युद्ध भएको छैन ।’

अब्बास स्टानिकजईका अनुसार पछिल्लो ४० वर्षमा पहिलो पटक अफगानिस्तानमा पछिल्लो समय कुनै युद्ध भएको छैन ।

यसले अफगानलाई मात्रै नभई अन्तरराष्ट्रिय समुदायलाई पनि फाइदा हुने उनले बताए ।

उनले भने, ‘अफगान एकजुट छ र संसारले यो स्थितिको लाभ उठाउन र हाम्रो सरकारलाई पहिचान गर्न आवश्यकता छ ।’

शेर मुहम्मद अब्बास स्टानिकजईका अनुसार काबुलमा हामिद करजई अन्तरराष्ट्रिय विमानस्थललाई अमेरिकाको फिर्तीपछि पुनः तयार पारिँदैछ र दुई दिनमा यो पुनः सुचारु हुनेछ ।

अब्बास स्टानिकजईका अनुसार विमानस्थलको मर्मतमा २५–३० मिलियन डलर खर्च हुनेछ जुन कतार र टर्कीले दिनेछन् ।

बीबीसी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति