होटल उद्योगको संरक्षण गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, १६ भदौ। कोरोना महमारीका कारण संकटमा रहेको होटल उद्योगलाई राज्यको संरक्षण आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् ।

होटल संघ नेपालका अध्यक्ष सृजना राणासहितको टोलीले बुधबार अर्थमन्त्री जनार्दन शर्मालाई भेट्दै यस्तो आग्रह गरेको हो । अध्यक्ष राणाले कोभिड–१९ का कारण पर्यटन उद्योग विशेष गरी होटल उद्योग नराम्रोसँग थला परी व्यवसाय पलायन हुन थालेको बताइन् । उनले होटल उद्योगमा खरबौंको लगानी रहेको बताइन् । हजारौं रोजगारी उपलब्ध गराउने र राज्यको कानुनी दायराभित्र रहेर सञ्चालनमा रहेका होटल उद्योगको संरक्षण तथा सम्वद्र्धन गर्नु राज्यको पनि उत्तिकै दायित्व रहेको उनले बताइन् ।

आर्थिक वर्ष २०७८/७९ को बजेटले सम्बोधन गरेका विषय र मौद्रिक नीतिले सम्बोधन गरेका विषय समेत कार्यान्वयनमा लैजान उनले ध्यानाकर्षण गराएकी छिन् ।होटेल व्यवसायीले होटल उद्योगलाई प्रदान गरेको उत्पादनमूलक उद्योग सरहको सुविधा प्रदान गर्ने गरी कार्यान्वयन गर्ने र औद्योगिक व्यवसाय ऐन २०७६ तथा आयकर ऐन २०५८ को ११(३)को परिभाषामा समेत राखी कार्यान्वयन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

होटल उद्योगलाई उत्पादनमूलक उद्योग सरहको विद्युत महसुल दर कायम गरी उपलब्ध गराउन समेत माग गरेका छन् । होटल उद्योगलाई उपलब्ध गराएको विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वनयमा आउन ढिलाई भएकोले अविलम्ब कार्यान्वयन गर्न समेत उद्योगीले माग गरेका छन् । सामाजिक सुरक्षा कोषमा सरकारको तर्फबाट सहुलियत योगदान रकम जम्मा भएकोमा राहत भएकोले यसलाई कम्तीमा १ वर्षसम्म निरन्तरता दिन समेत व्यवसायीले अर्थमन्त्रीसँग माग गरेका छन् । यो समयमा अधिकांश होटल पुनःनिर्माणको क्रममा रहेको हुँदा होटलमा आयात गरिने सामग्रीमा विशेष भन्सार छुटको व्यवस्था गरिनुपर्नेसमेत माग गरिएको छ । पर्यटन पुनरुत्थानको लागि विशेष आर्थिक योजना बनाई होटल उद्योगलाई फरक समूहमा राखी कार्यान्वयन पक्षलाई जोड दिई नियमित अनुगमन संयन्त्रको विकास गरिनुपर्ने पनि व्यवसायीको माग छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति