काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा उनले निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाएका छन् ।
१३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधिसभा क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएको उनले बताएका छन् । तर विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको उनको आरोप छ ।
नेपाली कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केही समय पश्चात नै शून्य हुने देख्दा देख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र यसै पार्टीको सम्बन्धित समुदायलाई संगठित गर्ने भातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवं अन्यायपूर्ण नीति नियम लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिकरुपले नमिल्ने र नसक्ने भएकाले आजैका मितिदेखि लागू हुनेगरी उल्लेखित दुवै पदबाट राजीनामा गरेको छु, उनले जारी गरेको वक्तव्यमा भनिएको छ।

COMMENTS