राजनीतिक समस्या देख्दा युवा निराश हुने अवस्था छ : अर्थमन्त्री शर्मा


काठमाडौं, १६ भदौ । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सुन्दर राष्ट्र बनाउने अभिभारा युवा पुस्तामा रहेको बताएका छन् ।
अबको १० वर्ष नेपाल राष्ट्रको लागि महत्वपूर्ण रहेको बताउँदै उनले यही अवधिमा चुनौतिहरुलाई पन्छाउँदै प्रगतितर्फ अगाडि बढ्नुपर्ने बताए ।
काठमाडौंको रविभवनस्थित ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.को भवन शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले युवाहरुले देश विकासका लागि समय ननिकाल्ने हो भने पछि देशमा विकास गर्न खोज्दा पनि गर्न नसकिने बताए ।

अर्थमन्त्री शर्माले भने, ‘हाम्रो देशको विकास गर्नका लागि हामीसँग भएको पर्याप्त साधन, श्रोत, जनशक्ति अहिले जे छ, नेपाल युवा बहुल जनशक्तिमा छ, यो १० वर्षको अवधिमा हामीले यो देशलाई विकास गर्न सक्यौँ भने यो एउटा अवसर हो, यदि यो १० वर्षको अवधि प्रयोग गर्न सकेनौँ भने क्रमशः अहिलेको युवा, प्रौढ हुँदै, वृद्धहरुको बाहुल्य हुने अवस्था सिर्जना हुन्छ, त्यतिबेला हामी विकास गर्छौं भनेर पनि, हाम्रो श्रम प्रयोग गर्छौं भनेर पनि नसक्ने अवस्था सिर्जना हुन्छ ।’

अर्थमन्त्री शर्माले युवाले देखेको देशको विकास र समृद्धिमा भ्रष्टाचार, राजनैतिक समस्या भइरहेकाले युवाहरु निराश भएको र अब त्यस्तो नैराश्यता पैदा हुन नदिने आश्वासन दिए । अबको युवापुस्ताले देश विकास गर्ने जिम्मा अब हाम्रो हो भन्ने सोचेर अघि बढ्नुपर्ने उनले बताए ।‘आजको युवा पुस्ताले राष्ट्रको विकास र समृद्धिको जो अपेक्षा गरेका छन्, तर देशमा विकृति विसंगती, भ्रष्टाचार, राजनीतिक समस्या देख्दा युवा निराश हुने खतरा छ, म आहृवान गर्न चाहन्छु, अबको युवा पुस्ताले यो राष्ट्र निर्माण गर्ने हो ।’

उनले भने, ‘राजनैतिक परिवर्तनका एजेण्डाहरुमा हामी लड्यौं, राजनीतिक एजेण्डाहरुमा धेरै सुधार भएका छन्, धेरै जनताका अधिकारहरु स्थापित भएका छन्, तर स्थापित अधिकारहरुलाई अब कार्यान्वयन गरेर साँच्चिकै सुन्दर राष्ट्र बनाउने अभिभारा अबको युवा पुस्तामा छ ।’

अबको १० वर्ष नेपाल राष्ट्रको लागि महत्वपूर्ण रहने भन्दै उनले यही अवधिमा धेरै समस्या, र चुनौतिहरुलाई पन्छाउँदै प्रगतितर्फ अगाडि बढ्नुपर्ने बताए । देशमा उत्पादनमुखी अर्थतन्त्रको आवश्यक्ता रहेको भन्दै उनले आफूसँग भएका स्रोत साधनहरुलाई नै प्रयोग गरेर आत्मनिर्भर बन्न सकिने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति