काठमाडौं, १६ भदौ । नेपाल र भारतबीच हुने फुटबल प्रतियोगिता दर्शकले हेर्न पाउने भएका छन् । बिहीबार र आइतबार हुने प्रतियोगितामा ५१ सय दर्शकले प्रवेश पाउने भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दर्शकलाई स्वास्थ्य मापदण्ड पुरा गरेर खेल हेर्न दिन अनुमति दिएको हो। दशरथ रंगशाला खेल हेर्न जाने दर्शकले अनिवार्य रुपमा कोरोनाको पीसीआर परिक्षण अथवा कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेको हुनुपर्नेछ। काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी राखेको छ।
यो समयमा २५ जनाभन्दा बढी भेला हुन, सभा समारोह नगर्न अपिल गरिएको छ। कोभिड १९ महामारीका कारण पछिल्लो समय खेलहरू बन्द रङ्गशालामा भएका थिए।
यसअघि नेपाल सुपर लिग (एनएसएल) बन्द रङ्गशालामा भएको थियो भने त्यसअघि नेपाल, नेदरल्याण्डस र मलेसियाबिचको त्रिदेशीय क्रिकेट सिरिजका पछिल्ला खेलहरू पनि बन्द रङ्गशालामै सम्पन्न भएको थियो।
प्रतिक्रिया