काठमाडौँ, १६भदौ । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधारको पहल थालेको छ। कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीसँग भेटेर संसद अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्मका विषयमा कुराकानी गरेका हुन्। दुई महिनाअघि सरकार बनेपछि कुनै पनि मन्त्रीले एमाले अध्यक्ष ओलीसँग भेट गरेको यो नै पहिलो पटक हो। कार्कीले मंगलबार साँझ ७ बजे ओलीलाई उनकै भक्तपुरस्थित बालकोट निवासमा पुगेर भेटेका हुन्। त्यसअघि कार्कीले दिउँसो साढे ३ बजे एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटवार्ता गरेका थिए।
‘मैले एमाले अध्यक्षलाई भेटेँ’, कार्कीले भने, ‘समसामयिक विषयमा राम्रै छलफल भएको छ। लोकतन्त्रलाई सुदृढ पार्दै संसदलाई प्रभावकारी बनाउने कुरा भएको छ।’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीले पहिलोपटक प्रतिपक्षी दलका नेतासँग भेटेको बताए।
हामीले सरकारमा रहँदा प्रतिपक्षलाई राज्यको महत्वपूर्ण अंगको रुपमा मान्यौँ, समझदारी राखेर अघि बढ्यौँ। प्रमुख प्रतिपक्षी प्रमुख प्रतिष्पर्धी पनि हो तर सरकारले एउटा समझदारी राख्नुपर्छ भन्ने सदासर्वदाको भनाई हो, नेम्वाङले भने, हामीले सरकारमा रहँदा सर्वदलीय बैठक गरेका छौँ। त्यतिबेला प्रधानमन्त्रीले पटक पटक शेरबहादुरजीसँग भेटिरहनु हुन्थ्यो। यहि कुरा हामीले सम्झाएका छौँ। नेम्वाङले अहिले बनेको गठबन्धन सरकारले प्रतिपक्षसँग सम्बन्ध नराखेको बताए। उहाँहरुले सरकारमा आएपछि हेलो पनि गर्नुभएको थिएन, नेम्वाङले भने, यो ठिक होइन भनेर हामी भनिरहन्थ्यौँ।
पछिल्लो समय सत्ता गठबन्धनका नेताहरुले प्रतिपक्षबारे गर्ने गरेको टिप्पणीबारे समेत नेकपा एमाले रूष्ट बनेको छ। नेपाली कांग्रेसले पनि त्यसमा साथ दिएको आरोप एमालेको छ। ‘हामी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ भनेर भनेका छौँ’,भने, ‘तपाईंहरूले हाम्रो सरकारले ल्याएको अध्यादेश टेबल गर्न समेत नदिएर सदन अवरुद्ध गर्नुभयो। हामीले पहिलो बैठकमा अवरुद्ध गरेनौँ। हामी जिम्मेवार रुपमा प्रस्तुत हुन्छौँ भनेर भन्यौँ।’नेम्वाङले सत्तारुढ नेपाली कांग्रेसलाई प्रतिपक्षीसँग सम्बन्ध राख्नुपर्छ भन्ने लागेको हुनसक्ने बताए। नेम्वाङले सत्तापक्ष र प्रतिपक्षबीच सम्पर्क कायम राखेर अघि बढ्न आफूले कार्कीलाई सुझाव दिएको बताए।
प्रतिक्रिया