सभामुख कान्ला र भीरभीर कुदेका छन् : अध्यक्ष ओली

काठमाडौं, १५ भदौ, । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कु बाटोमा हिँडाउन खोजेको बताएका छन् । नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेका कार्यक्रममा ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला र भीरको बाटो हिँडेको बताएका हुन ।

उनले निर्वाचन आयोग पनि संविधान र कानूनको राजमार्गमा हिँड्न छाडेको बताए । अध्यक्ष ओलीले अदालतमा बसेपछि जे पनि गर्न सकिने जस्तो भइरहेको पनि टिप्पणी गरे ।‘राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिँड्न मान्दैनन् । बाटाबाट हिँड्न मान्दैनन् । कान्ला–कान्ला, भीरभीर कुद्छन् ।

निर्वाचन आयोग संविधानको, कानूनको राजमार्ग छ त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ । सम्मानित अदालतको कुरै नगरौँ । त्यहाँ बसेपछि त जे गर्दा पनि हुन्छ,’ ओलीले भने, ‘हामी ती कुराहरुलाई स्वीकारेर, मानेर लोकतन्त्रप्रति चिन्ता गरिरहेका छौं । चिन्ता लोकतन्त्रको भविष्यप्रति गरिरहेका छौं । किनभने लोकतन्त्रको भविष्य हाम्रो बलिदानसँग जोडिएको छ ।’ नेकपा एमाले विभाजनअघि ओलीले आफ्नो पार्टीका १४ सांसदलाई ह्वीप उल्लंघनको आरोपमा दलबाट निष्कासन गरी संसद सचिवालयमा जानकारी गराएका थिए । तर सभामुखले नेकपा एकीकृत दर्ता भइसकेपछि ती सांसदहरुलाई कारबाही गर्न नपर्ने भनी निर्णय दिएका थिए । एमालेले सभामुखले समयमा निर्णय नदिएर दल विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएको छ । यसैवीच कार्यक्रममा उनले वर्तमान सत्ता गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको भन्दै आगामी चुनावमा वर्तमान सत्तारुढ गठबन्धन भत्किने बताए ।
‘अहिले सरकारमा को रह्यो, को रहेन, को गयो, जालझेल, षडयन्त्र गरेर, तिगडम गरेर, स्वार्थहरुका पोकाहरु एक ठाउँ भेला भएर, उद्देश्य नभएका मान्छेहरुको झुण्ड गयो होला सरकारमा चिन्ताको विषय होइन । ‘ गठजोड चुनावमा गएर सब ठीकठाक भैहाल्छ,’ उनले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board