महालक्ष्मी विकास बैंकको ऋण तिरेर धितो फिर्ता माग्दा २५ तोला सुन नक्कली निस्किएपछि..


काठमाडौं, १४ भदौ ।   महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखाबाट ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जनले ऋण लिएकी थिइन् । २०७२ मा ऋण लिँदा उनले २५ तोला सुन धितोमा राखिन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकको जवाफले उनी छाँगाबाट खसेजस्तै भइन् ।

‘कुमारीपाटी शाखाका प्रबन्धकले सुन नक्कली रहेछ फिर्ता दिन मिल्दैन भने’ संचारकर्मी संग कुरा गर्दै विष्णु महर्जनले भनिन्, ‘त्यतिबेला बैंकले मेरो गहना जाँचेर लिएको थियो तर,अहिले ऋण तिरेपछि कसरी नक्कली भयो ?’

धितोमा राखेको सुन पाँच वर्षपछि कुमारीपाटी शाखाका प्रबन्धक सुनिल कुमार नेपालले ‘नक्कली’ भनेर फिर्ता दिन अस्वीकार गरेपछि महर्जनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुर गरेकी छिन् । २०७२ चैतमा आफ्ना ३५ थान सुनका गहना जाँच गरेर नै बैंकले ऋण दिएको महर्जनले बताइन् । ०७८ भदौ ९ मा ऋण चुक्ता गरेपछि उनी आफ्नो सुन फिर्ता माग्न गएकी थिइन् ।

महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी गरेपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको छ । छलफलमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ‘सुन फिर्ता गर्छौँ’ भनेर हस्ताक्षर गरेका छन् । ‘सुन फिर्ता गर्छौँ’ भनेर प्रहरीकहाँ भनेपनि आफूलाई बैंकले अझै सुन नदिएको महर्जनले बताएकी छिन् ।

‘जाँचेर राखेको सुन ५ वर्षपछि नक्कली भएको हो ?’ भन्ने स‌‌चारकर्मीको प्रश्नमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले भने, ‘यो बैंक र ऋणीको आन्तरिक कुरा हो,त्यस्तो केही छैन उहाँ (विष्णु महर्जन)ले यसबारे जान्नुभएको छ ।’ सीईओ देवकोटाले २०७२ मा धितो स्वीकार गर्दा सुन जाँचेर लिएको स्वीकार गरेका छन् । सुन फिर्ता नगरेकोबारे देवकोटा भन्छन्, ‘त्यहाँ धेरै कुराहरु छन् ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति