म अध्यक्ष पदका लागि योग्य उम्मेदवार : महासचिव पोखरेल

काठमाडौं, १४ भदौ ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनलाई ‘टालाटुली’को संज्ञा दिएका छन्।

महासचिव पोखरेलले सत्तारुढ गठबन्धन धेरै दिन टिक्न नसक्ने दावी समेत गरे। सोमबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेशनल पोलिटिक्सको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने गरी अघि बढने पनि बताए।

महासचिव पोखरेलले भने, ‘टालाटुली बाटुली के जाति भन्ने कुरा छ नि। त्यो हेर्दै जानु छ । यो गठबन्धन कसरी रहन्छ, कति दिन रहन्छ ? कसरी गर्छ, हेर्दै जानुछ । हामी नेशनल पोलिटिक्सको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने हिसावले अगाडि जान्छौं।’

महासचिव पोखरलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेभित्रको गुटबन्दीको कारण आफ्नो पार्टीमा विभाजन आएको पनि स्मरण गराए। उनले पार्टीको आगामी महाधिवेशनमा आफू पनि अध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको बताए।

सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसावले आफू कुनै पनि जिम्मेवारी लिन सक्षम रहेको बताए। तर त्यसका लागि परिस्थितिको ख्याल गरेर आफू अघि बढ्ने उनको भनाई छ।

महासचिव पोखरेलले भने, ‘मैले चाँही के बुझ्छु भने त्यो संवेदनशील घडीमा आवश्यक्ता के पर्छ रु कस्तो हुन्छ ? देशभरका कार्यकर्ताको चाहना के हुन्छ ? डिमान्ड के हुन्छ ?त्यो कुरालाई हेक्का राख्नुपर्छ ।

म मनोगत ढंगले भन्न त भनौला, तर त्यस बेलाको परिस्थिति, कार्यकर्ताको चाहना, आवश्यक्ता छ कि छैन ? त्यो कुरालाई हेक्का राख्नुपर्छ । तर तिमी त्यो क्षमता राख्छौ कि राख्दैनौ भनेर मलाई सोध्ने हो भने मैले फेरी दोहोर्‍याउँछु–म इतिहासले, निष्ठाले, निरन्तरताले, क्षमताले कुनै पनि जिम्मेवारीमा डिजर्भ गर्छु,’ उनले भने। नेकपा एमालेको आगामी महाधिवेशन २०७९ साल वैशाख १० गते भित्र सम्पन्न गरिसक्नु पर्नेछ। महासचिव पोखरेलले त्यसैको तयारीका लागि पार्टीले आगामी असोज पहिलो हप्ता विधान महाधिवेशनको आयोजना गरिएको पनि स्पष्ट पारे।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति