चीनबाट काठमाडौं आउँदै गरेको जहाजले ‘ओभरसुट’ गरेपछि….



काठमाडौं, १४ भदौ । चीनको छेन्दुबाट काठमाडौं आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ‘ओभरसुट’ गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनुपरेको जनाइएको छ ।

मौसम खराबीले विमानस्थलको ‘भिजिबिलिटी’ कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलले जनाएको छ ।आज बिहान ६ः२९ बजेका लागि अवतरण समय तालिका रहेको उक्त जहाजले अवतरणका क्रममा इमाडोलनजिकबाट ओभरसुट गरेको थियो । उक्त जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको विमानस्थलले जनाएको छ ।

मौसम खराबीले जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलका एक उच्च अधिकारीले जानकारी दिए । “जहाज सामान्य एप्रोचमा आएको हुन्छ, सामान्य मौसम खराबीले धावनमार्ग ‘रनवे’ मिस एप्रोच भए पनि नेक्स्ट एप्रोचका लागि ओभरसुट गर्नुपरेको हो,” उनले भने ।

काठमाडौं उपत्यकाका आकाशमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुले आन्तरिक उडान पनि सामान्य प्रभावित भएको छ । कतिपय गन्तव्यको उडान विलम्ब भएको छ ।

विमानस्थलमा आइतबार मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको थियो । मौसम खराबीले भिजिबिलटी कम हुँदा पोखरा गन्तव्यका कतिपय उडान रद्द गरिएकोे बुद्ध एयरले जनाएको छ । यस्तै, विराटनगर र भरतपुर विमानस्थलमा पनि भिजिबिलिटीका कारण उडान केही विलम्ब भएको थियो ।

देशभर बदली र निरन्तर वर्षाले आन्तरिक उडान सामान्य प्रभावित भएको होे । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board