नारायणीले सतर्कता तह पार गर्‍यो : उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, १३ भदौ। प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नदी तटीय क्षेत्रका बासिन्दाले आज रातिसम्म उच्च सतर्कता अपनाउनुपर्ने बताए। “नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ,” पङ्गेनीले भने, “नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीमा ठूलो बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जरुरी छ।”

जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाका विभिन्न वडामा नारायणी नदीको तटीय क्षेत्रमा बसोबास रहेको भन्दै ती स्थानमा डुबान र कटानको समस्या देखिएको पङ्गेनीले बताए।

त्यसैगरी जिल्लाका अन्य खोलामा समेत बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ। बर्खामा बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै उद्धारका लागि सुरक्षाकर्मीसहितको उद्धार टोली तयारी अवस्थामा राखिएको उनले बताए।

देवघाटको बाढी मापन केन्द्रका अनुसार आज अपराह्न ४ः४५ बजे नारायणी नदीमा पानीको बहाव ७.७ मिटर रहेको छ। नारायणी नदीमा पानीको सतह ७।३ मिटरलाई सतर्कता तहको बिन्दु मानिएको छ भने नौ मिटरलाई खतराको तह मानिएको छ। नारायणी नदीमा पानीको बहाव अहिले पनि निरन्तर बढ्दो क्रममा रहेको बाढी मापन केन्द्रले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति