राज्यको पुनर्संरचना त्रुटिपूर्ण, अब ११ प्रदेश बनाउनुपर्छ – उपेन्द्र यादव

काठमाडौं, १३ भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्य पुनर्संरचना सच्याउन आवश्यक भएको बताएका छन्। जसपाले आइतबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले पहाड र मधेसका जिल्लाहरुलाई मिसाएर प्रदेशहरु बनाइएको हुँदा समस्या भएको बताए। राज्य पुनर्संरचना गलत हुँदा नागरिकमा भाषाको समस्या भएको उनले बताए। ‘हिन्दीमा बोल्दा पहाडका साथीहरुलाई, नेपालीमा बोल्दा मधेसका साथीहरुलाई भाषा बुझ्न् गाह्रो हुन्छ, यो राज्य पुनर्संरचना गलत हुँदा भएको हो’– यादवले भने।

यादवले सबै समुदायको पहिचान र अधिकारका लागि राज्य पुनर्संरचना आयोगको प्रतिवेदनका आधारमा ११ प्रदेश बनाउनु पर्नेमा जोड दिए। ‘त्रुटिपूर्ण र विभेदकारी संविधान संशोधन गर्नुपर्छ, सात प्रदेशको संरचना बदल्नु पर्छ’–नेता यादवले भने।नेता यादवले निर्वाचन प्रणाली खर्चिलो भएका कारण किसान मजदूरले निर्वाचन लड्न नसकेकाले समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताए।

उनले सबै भाषाको सम्मान गर्दै विभेद र असमानताको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए। मधेशी नागरिकलाई विदेशी सरहको नागरिकको रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनले बताए।राज्यले विपन्न वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गर्नुपर्ने यादवले बताए। केपी ओलीले दुई पटक संसद विघटन गरेर संविधानमाथि ‘कू’ गरेको तर आफूहरूले त्यसलाई असफल बनाइदिएको यादवको भनाइ छ।

प्रतिनिधि सभा पुनःस्थापनले गणतन्त्र संघीयता समावेशिता बचेको भन्दै यादवले थप अधिकारका लागि संविधान संसोधन गर्नुपर्ने बताए।प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसद हुने शासकीय प्रणाली पार्टीको एजेण्डा रहेको भन्दै यादवले महँगो निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताए। नागरिकता विधेयक परिमार्जन गरी सबै नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने यादवले बताए।

आफूलाई मधेशको नेता भन्ने महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको उनको आरोप छ। उनले महन्थ ठाकुर एण्ड कम्पनी संसद पार्टी नेता महेन्द्र राय यादवले महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरु केपी शर्मा ओलिको प्रतिगामी कदमको मतियार बनेको र अहिले अलग भएपछि पार्टीमा समस्या नभएको  बताए। उनले पार्टी प्रत्यक्ष निर्वाचित रास्ट्रपतीय प्रणालीको पक्षमा रहेकोे बताए। उनले हिमाल, पहाड र तराई मधेसलाई  एकताबद्ध गरी सबै जाति समुदायलाई समान अधिकार दिने वैकल्पिक पार्टी जसपा मात्र भएको दाबी गरे।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति