काबुलमा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या १७० पुग्यो : विमानस्थल बाहिरको क्षेत्र तालिबानले नियन्त्रण लिने

काठमाडौं, १२ भदौ । अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा बेलायतका नागरिकको समेत ज्यान गएको पुष्टि भएको छ । बेलायतले काबुल विमानस्थल बाहिर भएको हमलामा आफ्ना दुई जना नागरिकको ज्यान गएको बताएको बीबीसीले जनाएको छ ।

दुई जना बेलायती नागरिकसहित यो घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म १ सय ७० पुगेको बीबीसीले जनाएको छ । घटनामा डेढ सयभन्दा धेरै घाइते भएका छन् । बिहीवार राति भएको आत्मघाती बम विस्फोटको जिम्मा आतङ्कवादी सङ्गठन आईएसले लिएको छ ।

यसअघि काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको भन्दै अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका थिए । तर, चेतावनीको बेवास्ता गर्दा ठूलो मानवीय क्षति हुन पुगेको छ । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोट पछि पनि उद्धार कार्य जारी नै रहने बताएका छन् ।

उनले आफ्नो मिसन पूरा गर्नै पर्ने र त्यो जसरी पनि गर्ने दावी गरे । राष्ट्रपति बाइडेनले विस्फोटमा संलग्नहरूलाई कारबाही समेत हुने बताएका छन् । बम विस्फोटपछि पनि देश छाड्न चाहने हजारौँ मानिस विमानस्थल बाहिर जम्मा भएका छन् ।विमानस्थल बाहिरको क्षेत्र तालिबानले नियन्त्रण लिएर सुरक्षा दिने प्रयास गरिरहेको खबरमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति