नेपालमै मोबाइल सेट उत्पादन र निर्यात सम्भव, अध्ययन प्रतिवेदनको यस्तो छ सुझाव

काठमाडौं, ११ भदौ ।  मोबाइल अहिले विश्वभरका मानिसहरुका लागि अपरिहार्य आवश्यकताजस्तो बनिसकेको छ । नेपालमा पनि अहिले प्रत्येक व्यक्तिको हातहातमा पुगिसकेको छ, यो बहुउपयोगी यन्त्र । यद्यपि, स्वदेशमा उत्पादन नहुने भएकाले मोबाइल खरिदमा ठूलै रकम विदेशिने गरेको छ ।देशभित्र उच्च माग भएको मोबाइलका एसेम्बल नेपालमै गर्न कति सम्भव होला त ? हालै सरकारीस्तरमा नै गरिएको एक अध्ययनले यस्तो सम्भव रहेको प्रतिवेदन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ६ महिना अध्ययन गरेर यस्तो निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

नेपालमा प्रत्येक वर्ष भारत र चीनलगायतका देशबाट ठूलो परिमाणमा मोबाइल फोन आयात हुन्छ । प्रत्येक वर्ष ४० अर्ब रुपैयाँको मोबाइल फोन आयात हुने गरेको आयातकर्ताहरु बताउँछन् ।

प्राधिकरणको प्रतिवेदनमा भनिएको छ, ‘एप्पल, ओप्पो र सामसुङलगायत मोबाइल नेपालमै एसेम्बल गर्न सकिन्छ । नेपालमा एसेम्बल भएको मोबाइल फोन ‘मेड इन नेपाल’ भनेर विदेशमा समेत निर्यात समेत गर्न सम्भव छ ।’

प्राधिकरणले तयार पारेको ‘एसेम्ब्लिङ एण्ड रिफरबिसिङ अफ मोबाइल ह्याण्डसेट्स इन नेपाल’को प्रतिवेदनमा अन्य देशबाट पाटपुर्जा ल्याएर नेपालमा मोबाइलको एसेम्बल गर्न सकिने उल्लेख गरिएको हो । नेपालमा नै मोबाइल एसेम्बल गर्न ठूलो प्लान्ट स्थापना गर्नुपर्ने र त्यसका लागि धेरै लगानी चाहिने प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनअनुसार भारत र भियतनामले जस्तै मोबाइल उत्पादन गरेर विदेश निर्यात गर्न सकिने अवस्था छ । अध्ययन समितिका संयोजक तथा प्राधिकरणका निर्देशक मिनप्रसाद अर्याल नेपाल अब पनि हात बाँधेर बस्न नहुने बताउँछन् । विश्व नै प्रविधिमा अगाडि बढेको बेला नेपालले पनि आफ्नै उत्पादनमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।

अर्यालले भने, ‘नेपालमै मोबाइल फोनको एसेम्बलको सम्भावना देखिएको छ । सरकारको ‘मेक इन नेपाल’ नीतिअनुसार मोबाइल एसेम्बल तथा पुरानोलाई नयाँ बनाएर पुनः प्रयोग ल्याउन सकिनेछ ।’

मोबाइल एसेम्बल गर्दा विदेशी लगानी पनि आउनसक्ने उनले बताए । यसका लागि कानूनी व्यवस्थाहरु सहजीकरण गर्नुपर्ने उनको मत छ ।

‘सरकार र निजी क्षेत्र मिलेर काम गर्ने हो भने असम्भव भन्ने केही हुँदैन,’ अर्यालले भने ।

नेपालमा वार्षिक ३५ अर्बभन्दा धेरै मोबाइल फोन विदेशबाट आयात हुने गरेको छ । नेपालमा नै एसेम्बल प्लान्ट स्थापना गरेर सञ्चालन गर्न सकियो भने रोजगारी पनि वृद्धि हुने र स्वदेशी मुद्रा पनि विदेशिन रोकिने अर्यालले बताए ।

मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राले भने आयातित मोबाइलमा कर कम भएको अवस्थामा नेपालमा नै मोबाइल फोन एसेम्बल गर्न त्यति सहज नभएको बताए ।

उनले भने, ‘नेपालमा मोबाइल आयात गर्दा १५.५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । नेपालमा नै मोबाइल एसेम्बल गर्ने हो भने एसेम्बल गर्ने कम्पनीले आयात गर्ने पार्टपुर्जामा सरकारले सहज गर्नुपर्छ । तर अहिले अतिआवश्यक रहेका उद्योगले समेत सहुलियत नपाएको अवस्थामा मोबाइल एसेम्बल गर्ने प्लान्ट र उद्योगले कसरी पाउलान् ?’ मोबाइल नेपालमा नै एसेम्बल हुँदा त्यसको उत्पादन लागत उच्च हुन सक्ने उनको अनुमान छ ।

गत वर्ष नेपालमा मोबाइल आयात

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा कुल ३६ अर्ब ९० करोड ४५ लाख रुपैयाँको ७० लाख ३० हजार सेट मोबाइल आयात भएको छ । जसमध्ये सबैभन्दा बढी चीनबाट सबैभन्दा बढी २२ अर्ब ८३ करोड ३० लाख रुपैयाँको फोन आयात भएको छ ।

यसपछि भारतबाट १२ अर्ब ४९ करोड ८८ लाख रुपैयाँको, भियतनामबाट एक अर्ब २५ करोड ९१ लाख र दक्षिण कोरियाबाट ५ करोड ९८ लाखको मोबाइल भित्रिएको भन्सार विभागले देखाएको छ । यदि नेपालमै ठूलो लगानीको मोबाइल एसेम्बल प्लान्ट स्थापना गर्न सकेमा नेपाली मुद्रा विदेशिनबाट रोकिनुका साथै निर्यातबाट विदेशी मुद्रा आर्जन समेत गर्न सकिने देखिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति