चौथाइवालेको भ्रमण :‘पार्टी टु पार्टी’ सम्बन्धलाई नै विकसित गर्ने कुराहरूमा केन्द्रित – प्रकाशरण महत,नेकां, सहमहामन्त्री

भारतीय जनता पार्टी (बिजेपी) का विदेश विभाग प्रमुख विजय चौथाइवाले तपाईंकै निमन्त्रणामा आएका हुन भन्ने छ । यतिनै बेला बोलाउनुको के कारण थियो ?

हो, मेरो निमन्त्रणामा उहाँ (चौथाइवाले) आउनु भएको हो । ‘पार्टी टु पार्टी’ सम्बन्ध विकसित गर्न हामीले यताबाट आवश्यक ठानिरहेका थियौं, उताबाट (भारत) पनि त्यस्तै खाले आशय व्यक्त भएको थियो । त्यसैका आधारमा नेपालमा नै बोलाउँ भनेर सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी भयो । त्यसपछि मैले निमन्त्रणा दिएको हुँ । 

यो भ्रमणलाई भाजपाको सरकारको प्रतिनिधित्व भन्ने कि पार्टीको ? 

पार्टीको हिसावले आउनु भएको हो । सरकारको प्रतिनिधित्व होइन । तथापी सत्तारुढ दल भएकाले सरकार र पार्टीको भावनाबीच सामिप्यता त हुने नै भयो । सरकार र पार्टीको छिमेकीसँगको दृष्टिकोण अलग-अलग हुने कुरा हुँदैन । दुई देशकै सत्तारुढ दलका पार्टीसँग यो भेटघाटले सरकारी तहमा उठाउने मुद्दामा पनि सहजीकरण गर्छ । दुई पार्टीबीच दृष्टिकोण र एक–अर्कालाई बुझ्ने कुरामा सहज बनाउँछ । सम्बन्धमा भएका केही अप्ठ्यारा अवस्थाहरू छन् भने त्यसको समाधान गर्न पनि सहज हुन्छ भनेरै बोलाइएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा तपाईं पनि सहभागी हुनुहुन्थ्यो । दुई पार्टीबीच भन्दा पनि सरकारी तहमा कस्तो कुराकानी भयो ?

कांग्रेसको नेतृत्वमा भर्खरै नयाँ सरकार बनेको बेला पहिलोपल्ट यो भेटघाट भएको हो । सरकारी तहमा भएको भ्रमण नभएकाले औपचारिक कुराकानी हुने कुरा भएन । सामान्य शिष्टाचारको रुपमा यसलाई लिन सकिन्छ । नयाँ सरकार आएको पृष्ठभूमिमा प्रधानमन्त्रीले लोकतन्त्रलाई बलियो बनाउन म लागेको छु भनेर भन्नु भएको छ । मुलभूत रुपमा ‘पार्टी टु पार्टी’ सम्बन्धलाई नै विकसित गर्ने कुराहरूमा छलफल केन्द्रित भएको हो । 

पछिलोपटक कांग्रेसको सम्बन्ध भारतसँग सुमधुर नभएको चर्चा हुने गरेको छ । अहिलेकै सरकार पनि भारतको चाहना विपरित बनेको भनेर व्याख्या हुने गर्दछ । यही पृष्ठभूमिमा भएको यो भेटघाटको कुनै अर्थ छ कि ? 

दुई देशबीच सम्बन्ध विकसित गर्न चाहेको कुरा उहाँ आफैंंले व्यक्त गर्नु भएको छ । पार्टीगत रुपमा भएको यस्तो भेटघाटले राष्ट्रिय मुद्दाहरूमा, दुई देशबीच जोडिएका मुद्दाहरूका सवालमा समान दृष्टिकोण बनाउन र सामान्जस्य ल्याउन सहज बनाउँछ । प्रधानमन्त्रीसंँग भेट्नु अघि मैले नै एक घण्टा जति कुराकानी गरेको थिएँ । त्यसपछि प्रधानमन्त्रीसंँग भेट गराउन मैले नै लिएर गएको हुँ ।

प्रधानमन्त्रीसँग यस्तै कुराकानी भएका हुन् । दुवै पक्षबाट आपसी सम्बन्धमा अकारण समास्याहरू नआओस् भन्नेमा छलफल भयो । एक/अर्कालाई राम्रोसँग बुझ्न आवश्यक छ भन्ने महसुस भयो । 

प्रधानमन्त्रीले भारतसँग बिग्रेको सम्बन्ध सुधार गर्नकै लागि चौथाइवालेलाई बोलाएको भन्ने चर्चा पनि सुनिने गरेको छ नि ? 

सम्बन्ध बिग्रेको भन्ने कुरा म मान्दिनँ । तर, पनि झन्डै साढे तीन वर्षको कम्युनिष्ट सरकारपछि कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । यो अवस्था कसरी आयो ? कुन परिवेशमा यो घटनाक्रम अघि बढ्यो ? हामी कसरी सम्बन्धलाई विकसित गर्न चाहन्छौं भन्ने कुरा महत्त्वपूर्ण हो । पार्टी तहमा भएको यो छलफल सरकारी तहमा पनि विस्तार हुन्छ भन्ने लागेको छ । सरकारसँग औपचारिक रुपमा भेटघाट र छलफल हुन्छ । तर दुई सत्तारुढ पार्टीबीचको यो भेटघाटले सरकारकाबीच हुने छलफल र सम्बन्धलाई पनि सहज बनाउँछ भन्ने हाम्रो ठम्याइ छ । 

कांग्रेस महाधिवेशनमा भारतको प्रभाव धेरै रहन्छ भनेर भनिन्छ । कसलाई सभापति बनाउने भन्नेमा पनि भारतको भूमिकाले धेरै असर गर्छ भनेर नेताहरूनै अनौपचारिक रुपमा भन्ने गर्नुहुन्छ । सभापति देउवाले आफ्नो सहजता खोज्न भारतलाई फकाउन खोज्नु भएको त होइन ?

यो मान्छेहरूको अनुमानको कुरा हो । नेपालमा हुने यस्ता भ्रमणले कुनैपनि राजनीतिक दलको अधिवेशन होस् वा सरकारी तहबाट हुने कुनै निर्णय, भारतको प्रभाव हुन्छ भनेर भन्ने गरिन्छ । कतिपय पार्टीको हकमा होला पनि । जहाँसम्म कांग्रेस पार्टीको कुरा हो, त्यस्तो अवस्था छैन । आन्तरिक व्यवस्थापन हामी ले गर्ने हो । कांग्रेस अधिवेशनको कुरा आन्तरिक मामिला हो, यसको व्यवस्थापन हामी आफैंले गर्नुपर्छ भनेर हामी आफैंले जोड दिँदै आएका छौ । अधिवेशनको छेउमा समर्थन खोज्न वा बाहिर प्रभाव पार्ने विषयसँग यस भ्रमणको कुनै साइनो र सरोकार छैन । 

सरकारलाई समर्थन गर्ने दिशामा पनि छलफल भएको भन्ने छ नि ?

होइन । यस्तो कुनै कुरा भएन । जुनसुकै प्रक्रियाबाट नयाँ सरकार आएपनि छिमेकी देशले एउटा तहको सम्बन्ध बढाउन चाहन्छ । सरकार बन्ने क्रममा उहाँहरूको दृष्टिकोण के थियो, त्यो आफ्नो ठाउँमा होला । तर, हाम्रो सम्बन्ध राम्रो नभएकाले सम्बन्ध विकसित गर्नुपर्‍यो भन्ने कुरा सत्य होइन । कांग्रेससँग लामो समय औपचारिक सम्पर्क भएको थिएन । पार्टीगत रुपमा पनि भएन । अनौपचारिक रुपमा कसैले भेट्यो होला, कुराकानी भयो होला, त्यो बेग्लै कुरा भयो । तर, वर्तमान सरकार बनेपछि सरकारी तहमा कुनै भेटघाट भएको छैन । कुटनीतिक सम्पर्कबाट भएका होलान् । प्रत्यक्ष कुराकानी भएको यो नै पहिलोपटक हो । 

‘राखी’ कुटनीतिको कुरा पनि निकै चर्चामा आयो नि ?

प्रधानमन्त्रीसँग भेट्ने दिनमा जनै पूर्णिमा पनि परेछ । यो संयोग मात्रै हो । त्यसको अर्को कुनै अर्थ छैन । मैले नै उहाँलाई लिएर बालुवाटार गएको हो । त्यही मौकामा प्रथम महिलाले ‘जेष्चर’को रूपमा राखी बाँधिदिने तय भएको हो । भारत र नेपालको धार्मिक र सांस्कृतिक क्षेत्रमा धेरै समानता छ । हजारौं वर्षदेखि नै समान अभ्यास पनि छ । धार्मिक परम्परालाई ‘एक्सचेन्ज’ गर्नु राम्रो पनि हो।

भारतसँग भ्याक्सिनको विषयमा कुनै कुरा भएन ? 

कोभिड र भ्याक्सिनका कुराहरू उठेका छन् । प्राविधिक कठिनाइको कारणले रोकिएको छ, चाँडै उपलब्ध हुन्छ भन्ने कुरा अनौपचारिक रुपमा उहाँले भन्नुभएको छ । हामीले यहाँको वस्तुस्थितिबारेमा जानकारी गराएका छौं ।’

कान्तिपुर दैनिकबाट

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board