काठमाडौं, ११ भदौ । अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएको केहि दिनमै आईएसआईएसले आक्रमण गरेको छ । एक हप्ता अघि शनिबार सुरक्षा अलर्ट जारी गर्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई आईएसको सम्भावित आक्रमणबाट जोगिन भनेको थियो । अमेरिकी रक्षा अधिकारीहरुले भने आफ्ना नागरिकलाई ‘ढोका बाहिर हुन सक्ने सुरक्षा खतरा’ बाट आफूलाई टाढै राख्न र सुरक्षित रहन भनेको थियो । हप्ता दिन नवित्दै आईएसआईएसको आक्रमणमा परि ठूलो संख्यामा अमेरिकी सैनिक तथा अफगानी नागरिकहरु विस्फोटको शिकार बने । घटनाको जिम्मेवारी आईएसआईएस खुरासानले लिएको छ ।
आईएसआईएस–के इराक तथा सिरियामा कुनै समय कब्जा जमाएको आईएसआईएस अर्थात् (ईस्लामिक स्टेट अफ ईराक एन्ड सिरिया) को सहयोगी हाँगा हो । यसले पाकिस्तान र अफगानिस्तानका जिहादीहरुलाई एकजुट गर्ने काम गर्छ ।
कर्तुततहरु
पछिल्ला वर्षहरुमा निन्दनीय आक्रमणहरूको आरोप यस समूहमाथि लाग्दै आएको छ । छात्रालाई निशाना बनाउने, अस्पताल र प्रसुती गृहमा हमला गर्नेलगायत आरोप यस समूहमाथि लागेको छ । गर्भवती महिला र नर्सहरुलाई पनि गोली हानेर मारेको आरोप यस समूहमाथि छ ।
यो तालिबानजस्तो समूह होइन । तालिबान केवल अफगानिस्तानमा केन्द्रीत छ । तर, आईएसआईएस के विश्वव्यापी सञ्जालको हिस्सा हो, उक्त सञ्जालले भ्याए जति ठाउँमा आक्रमण गर्ने गरेको छ ।
कहाँ छ यो समूह ?
यो समूहको आधार इलाका अफगानिस्तानको पूर्वी नन्गर्हर प्रान्त हो । यस प्रान्त अन्तर्गत पाकिस्तान छिर्न र निस्कन सजिलो हुने जुन रुट छ, त्यही रुटमा ड्रग्स र अन्य कुराको कारोबार समेतमा यो समूह संलग्न छ ।
कुनै समय यस समूहमा ३ हजार लडाकु थिए । तर पछिल्लो समय अमेरिकी र अफगानी सैनिकसँगको भिडन्तमा यस समूहले ठूलो क्षति व्यहोर्नुप७थभलसयो । तालिबानसँग पनि उनीहरुको पटक–पटक भिडन्त परेको थियो ।
तालिबानसँग के सम्बन्ध छ ?
सायद, उनीहरुबीच सम्बन्ध हुनसक्छ । तर तेस्रो पक्ष अर्थात् हक्कानी नेटवर्कमार्फत । अध्ययनअनुसार हक्कानी नेटवर्क र आईएसआईएस–के बीच निकै नजिकको सम्बन्ध छ । र, तालिबानसँग पनि हक्कानी नेटवर्कको राम्रो सम्बन्ध छ ।
अहिले काबुलको सुरक्षाको जिम्मेवारी पाएका खलिल हक्कानीको टाउकोको मुल्य अमेरिकाले कुनै समय ५० लाख डलर तोकेको थियो र यो अझै फिर्ता भइसकेको छैन । एशिया प्यासेफिक फाउन्डेशनका डाक्टर साजन गोयलले यी सैन्य नेटवर्कहरुका गतिविधिलाई वर्षौंदेखि नियालिरहेका छन् । ‘२०१९ र २०२१ को अवधिमा भएका धेरै प्रमुख आक्रमणमा आईएसआईएस–के र तालिबानको हक्कानी नेटवर्क तथा पाकिस्तानमा रहेका धेरै आतंकवादी समूहबीच समन्वय भएको देखिन्छ ।’
जब १५ अगस्टमा तालिबानले काबुल कब्जा ग¥यो । त्यसपछि पुल ई चार्की जेलबाट ठूलो संख्यामा बन्दीहरु रिहा ग¥यो, यसक्रममा आईएस र अलकायदाका लडाकुहरु पनि रिहा भए । उनीहरुको संख्या ठूलो छ ।
यी सबैका बाबजुद आईएसआईएस–के र तालिबानबीच ठूलो भिन्नता छ । अमेरिकाको कठपुतली बन्नका लागि तालिबानले जिहादी युद्धभूमी छाडेर कतारको होटलमा वार्ता गरेको आईएसआईएस–केको आरोप छ । अबका दिनमा भने आईएस लडाकुले नै तालिबानलाई सरकार सञ्चालनमा चुनौती दिनेछन् ।
प्रतिक्रिया