पोखराको मणिपाल शिक्षण अस्पताल सवा तीन अर्बमा बिक्री

काठमाडौं, १० भदौ । पोखरास्थित मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ।पोखराकै दुई व्यवसायिक समूह बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले सवा तीन अर्ब रूपैयाँमा उक्त अस्पताल किनेका हुन्।

अटोवेज ग्रुपका अध्यक्ष पौडेलका अनुसार बतासले ६० प्रतिशत र पौडेलले ४० प्रतिशत लगानीमा अस्पताल खरिद गरेका हुन्। मणिपाल समूहसँग भोलि शुक्रबार अस्पताल खरिद बिक्री सम्झौता हुने पौडेलले बताए।

नेपाल सरकार र भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच १८ अक्टोबर १९९२ मा उक्त अस्पताल स्थापना गर्ने सम्झौता भएको थियो।

सम्झौता भएको दुई वर्षपछि मेडिकल कलेजका रूपमा एमबिबिएस सुरू गरेको थियो।अहिले यस अस्पतालमा एमबिबिएस, पिजी र नर्सिङका कक्षा संचालनमा छ।यस अस्पतालले एमबिबिएस अध्ययनका लागि वार्षिक १०० जना भर्ना गर्न अनुमति पाएको छ।अस्पताल सञ्चालन गर्न मणिपाल समूहलाई सरकारले ४९ वर्षका लागि जग्गा भाडामा दिएको थियो।

नेपालमै पहिलो पटक निजी क्षेत्रको लगानीमा स्थापना भएको मणिपाल मेडिकल कलेज अहिले पनि गण्डकी प्रदेशकै ठूलो सुविधा सम्पन्न निजी अस्पताल हो। यस अस्पतालमा ७५० बेड सञ्चालनमा छन्।

१० हेक्टर क्षेत्रफलमा फैलिएको अस्पताल भवन १० लाख स्क्वायर फिट रहेको छ। मुख्य अस्पताल भवन रहेको जग्गा मणिपाल समूहकै नाममा रहेको छ भने बाँकी भवन तथा संरचना सरकारी जग्गामा रहेको छ।

अस्पतालको हालसम्म ऋण नभए पनि सरकारलाई झण्डै १ अर्ब कर तिर्न बाँकी रहेको अटोवेज ग्रुपका पौडेलले बताए।सरकारलाई तिर्नुपर्ने करको दायित्व पनि आफूहरूले नै लिएको उनले बताए।‘अस्पतालको ऋण छैन, करिब १ अर्ब करको दायित्व छ,’ उनले भने, ‘त्यो दायित्व हामीले नै ग्रहण गर्छौं।’ भोलि सम्झौता भएपश्चात एक डेढ महिनाभित्र स्वामित्व हस्तान्तरण भइसक्ने पौडेलले बताए।मेडिकल कलेज सञ्चालन गर्न लगानीकर्ता बतास अध्यक्ष र पौडेल उपाध्यक्ष रहने सहमति भएको छ।अस्पतालमा अहिले ९ सय जना कर्मचारी छन्।पश्चिमका मानिस मेडिकल साइन्स पढ्न काठमाडौं वा अन्यत्र जान नपरोस् भनेर मेडिकल कलेजमा लगानी गरेको पौडेलले बताए।आफूहरूले स्वामित्व लिएपछि अस्पतालमा न्युरो र मुटुमा विशेष ध्यान दिने उनले बताए।

मणिपालको इतिहास

मणिपाल नेपालमै पहिलो पटक निजी क्षेत्रबाट सञ्चालनमा आएको शिक्षण अस्पताल हो । मणिपालले पोखरामा स्वास्थ्य शिक्षाको सुलभ अवसरमात्रै दिएन, विदेशी लगानीकर्तासमेत भित्र्याएको थियो ।

भारतीय लगानीमा पोखराको एक पाखोमा खुलेको मणिपालसँगै त्यो क्षेत्रमा विकासको ढोका पनि खुलेको थियो । काहुँडाँडाको काख फूलबारीमा स्थापित मणिपालले सेवा सुविधा र विकासका हिसाबले पनि त्यस क्षेत्रलाई हराभरा नै बनाइदियो ।

भारतका विभिन्न ठाउँमा मणिपाल अस्पताल चलाइरहेको समूहले पोखरामा मेडिकल चलाएर विकाससँगै ठूलो रोजगारी पनि सिर्जना गरेको थियो । मणिपालमा ११ सय भन्दा बढीले रोजगारी पाएका छन् ।

२०५१ सालमा मणिपाल समूहले पोखरा र जनकपुरमा एक साथ अस्पताल बनाउन थालेको थियो । सशत्र विद्रोहको कारण जनकपुरमा केही संरचना बनेर पनि अलपत्र प¥यो । तर, पोखरामा भने आकर्षक भवनसहित सेवा सञ्चालन गरेको थियो ।

विभिन्न माग राख्दै मणिपालमा कर्मचारी र चिकित्सकले वर्षेनी आन्दोलन गर्दै आएका छन् । यही जेठ महिनामा पनि चिकित्सक तथा कर्मचारीले सेवा सुविधा वृद्धिको माग राख्दै आन्दोलन भएको थियो । कर्मचारी आन्दोलनका कारण भारतीय समूहले मणिपाल बिक्री गर्न खोजेको यसअघि नै सार्वजनिक भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति