माधव नेपालप्रति ओलीको आरोप : व्यक्तिको स्वार्थका र अहंकारका कारण नयाँ पार्टी खोले

काठमाडौं, १० भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिको स्वार्थका कारण माधवकुमार नेपाल नयाँ पार्टी दर्ता गर्ने तहमा पुगेको आरोप लगाएका छन् । च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले नेपालले आफ्नो अभिाभारा बिर्सिएको आरोप समेत लगाए । उनले नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेका माधव नेपालहरुले पार्टीमा हुँडलो मच्चाएर गएको बताएका छन् । ‘हिजोसम्म हामीसँगै भएका साथीहरु आन्दोलन छोडेर, आन्दोलनको अभिभारा बोक्ने पार्टी छोडेर, आन्दोलनका अभिभारा बिर्सिएर, आफ्नो काँधको अभिभारा बिर्सिएर, जनताका अगाडि गरेका प्रतिबद्धता बिर्सिएर, आफूले लिएका सपथहरु बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर, भावावेशमा, अकारण, सैद्धान्तिक मतभेद भएर होइन्,’ उनले भने, ‘केहीका स्वार्थ र अहंकारले नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नु भएको छ ।’

उनले केन्द्रदेखि पालिकासम्म एमालेको पकड रहेको अवस्थामा माधव नेपालहरुले हुँडलो मच्चाउँदा क्षति व्यहोर्नुपरेको पनि बताएका छन् । ‘केन्द्रदेखि पालिकाहरुमा हाम्रो बर्चस्व थियो । केही मानिसहरूका गैरजिम्मेवार र स्वार्थी प्रवृत्तिले बिगार्‍यो । उनीहरुले पार्टीमा हुँडलो मच्चाए’, ओलीले थपे, ‘उनीहरुकै कारण आन्दोलन विभाजित भयो । केन्द्रदेखि प्रदेशसम्मका सरकार पनि ढले । अब हामी अन्तिम कित्ताकाटको अवस्थामा आइपुगेका छौं ।’उनले अब एमालेलाई एकतावद्ध बनाएर अघि लैजाने पनि दाबी गरे । ‘हामी एकतावद्ध रुपमा पार्टीलाई अघि बढाउनेछौं । नयाँ प्रतिवद्धता र अठोटका साथ उपस्थित भएका छौं’, उनले भने, ‘यो ज्यादै खुशीको कुरा हो । हामी ठूलो संख्यामा एकतावद्ध भएर आएका छौं । आगामी विजय यात्रा सुनिश्चित गर्न हामी सरिक भएका छौं ।’ एमाले विभाजित भएपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बसेको हो । बुधबार मात्रै नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति