काठमाडौं, १० भदौ । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी जारी गरेका छन् । काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौं सर्वसाधारणले प्रतीक्षा गरिरहेको बेला दुवै देशले सुरक्षा खतराको चेतावनी जारी गरेका हुन् ।
विमानस्थलमा पुगिसकेकाहरुलाई पनि त्यहाँबाट फर्किन भनिएको छ । अमेरिकी विदेश विभागले जारी गरेको अलर्टमा विमानस्थलको पूर्वी र उत्तरी गेटमा प्रतीक्षा गरिरहेकाहरुलाई ‘तुरुन्त अफगानिस्तान छाड्न’ भनिएको छ । यसअघि बेलायतले पनि यस्तै प्रकारको अलर्ट जारी गर्दै मानिसहरुलाई सुरक्षित स्थानमा जान र थप सूचनाको प्रतीक्षा गर्न भनेको थियो ।बेलायतको विदेश कार्यालयका अनुसार अफगानिस्तानमा सुरक्षा स्थिति अस्थीर छ र त्यहाँ आतंकवादी आक्रमणको खतरा छ ।तालिबान विद्रोहीहरुले अफगानिस्तान कब्जा गरेपछि त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।
तालिबानबाट असुरक्षित महसुस गर्दै विदेशी नागरिक र अफगान नागरिकहरु त्यहाँबाट सुरक्षित तरिकाले बाहिरिन चाहेका छन् । तालिबानले सबै सीमा नाका बन्द गराएकाले त्यहाँबाट बाहिरिने एकमात्र उपाय भनेको हवाई उडान हो ।अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा इस्लामिक स्टेट नामको अतिवादी समूहले आक्रमण गर्न सक्ने अभिव्यक्ति दिएको २४ घण्टापछि अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका हुन् ।अमेरिका, बेलायत, भारत लगायतका देशहरुले आफ्ना नागरिकहरुलाई अफगानिस्तानबाट उद्धार गरिरहेका छन् । नेपालले पनि मित्र राष्ट्रहरुको सहयोगमा नेपालीहरुलाई उद्धार गर्ने क्रम जारी राखेको छ । परराष्ट्र मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अझै पनि ४२ जना नेपाली उद्धारको पर्खाइमा छन् ।
हाल विमानस्थलको भित्री भाग नियन्त्रणमा लिएका अमेरिका सेनाले आफ्ना नागरिकहरुका साथै अफगानिस्तानका नागरिकहरुलाई पनि उद्धार गर्दै आएको छ । बीबीसीका अनुसार विगत १० दिनको अवधिमा काबुलबाट ८२ हजार मानिसलाई उद्धार गरिसकिएको छ । वितेको २४ घण्टाको अवधिमा अमेरिकी उडानबाट करिब १९ हजार मानिसलाई अफगानिस्तानबाट उद्धार गरिएको छ । अझै पनि हजारौं मानिसहरु काबुल विमानस्थलमा उद्धारको प्रतीक्षामा छन् ।
३१ अगष्ट ९भदौ १५ गते० भित्र काबुल छाड्न चाहनेहरु सबैलाई उद्धार गरिसक्ने योजना अमेरिकाको छ । तालिबानले उनीहरुलाई फर्किन ३१ अगष्टसम्मको समयसीमा दिएको छ ।तालिबान विरोधी समूहले अफगानिस्तानमा आक्रमण गर्न सक्ने भन्दै तालिबानले काबुल सहरको सुरक्षा गर्न फतेह फोर्स नामको छुट्टै सुरक्षा दस्ता खटाएको छ ।
प्रतिक्रिया