प्रदेश १ का मुख्यमन्त्री राईले राजीनामा दिने, आजै भीम आचार्यको नाम सिफारिस गरिने

काठमाडौँ, १० भदौ । एमाले ध्रुवीकरणको असर प्रदेश १ मा पनि परेको छ । माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेपछि प्रदेश १ सरकारको नेतृत्व हेरफेर हुने भएको हो । यसअघि नेपाल समूहमा खुलेका कतिपय नेताहरू अहिले एमालेमै बसेका छन् । नेपाल पक्षमा खुल्दै आएका प्रदेश सांसदहरू भने कता लाग्ने भन्नेमा खुलिसकेका छैनन् । तर, आधा दर्जन सांसद मात्रै नयाँ पार्टीमा लागेको खण्डमा मुख्यमन्त्री शेरधन राईको कुर्सी संकटमा पर्ने पक्का छ ।

सांसदहरूले ‘कित्ता’ क्लियर गर्नुअघि नै एमालेले आफ्नै दलको नेतृत्वमा नयाँ सरकार बनाउने रणनीति बनाएको छ । असन्तुष्ट सांसदहरूलाई माधव नेपालको पार्टीमा जानबाट रोक्न मन्त्रालय दिएरै भए पनि एमालेले सरकार टिकाउने यत्न सुरु गरेको हो ।

एमालेले आजका लागि संसदीय दलको बैठक बोलाएको छ । बिहान ११ बजेपछि बस्ने बैठकमा कति सांसद उपस्थित हुन्छन्, त्यसले एमाले विभाजनको असरलाई चित्रित गर्नेछ । माधव नेपाल पक्षमा खुल्दै आएका सांसदहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिएर भए पनि नयाँ पार्टीमा लाग्नबाट रोक्ने र बहुमत सिद्ध गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने दाउमा एमाले छ ।सोही रणनीतिअनुसार आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेताबाट राजीनामा दिने र त्यसमा भीम आचार्यलाई चयन गर्ने तयारी रहेको एमाले स्रोत बताउँछ । बैठकमा राईले दलको नेता पद त्यागेलगत्तै प्रदेश प्रमुखकहाँ गएर मुख्यमन्त्री पदबाट पनि राजीनामा दिने उनीनिकट स्रोतको भनाइ छ । एकताको पक्षमा उभिएका पार्टी सचिव आचार्यलाई मुख्यमन्त्री बनाउन राईले राजीनामा दिन लागेका हुन् । राईको राजीनामालगत्तै संसदीय दलको बैठकले आचार्यलाई प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा सिफारिस गर्ने तयारी छ ।

’प्रदेशसभामा सभामुखसहित एमालेका ५१ सांसद थिए । तीमध्ये कतिजना नयाँ पार्टीमा लाग्छन् भन्ने यकिन हुन बाँकी छ । तर, बुधबार निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका सांसद राजेन्द्र राईले सो पार्टीमा एक दर्जन बढी सांसद रहने दाबी गरेका छन् ।विभाजनअघिसम्म माधव नेपाल पक्षमा रहँदै आएका दोस्रो पुस्ताका प्रभावशाली नेताहरूले पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्किएको भन्दै एमालेमै बस्ने तय गरेपछि सो समूहमा खुल्दै आएका केही सांसदहरू भने नयाँ पार्टीमा नलाग्ने भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति