चन्द्रागिरीमा नेकपा (एकीकृत समाजवादी) को बैठक जारी, एमालेका ६० केन्द्रीय सदस्यको साथ

काठमाडौं, ८ भदौ ।  नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि चन्द्रागिरी रिसोर्टमा जारी छ ।दल दर्ताका लागि निवेदन दिएको सो समूहले बुधवार निर्वाचन आयोगमा सनाखत गर्नका लागि २० प्रतिशत केन्द्रीय सदस्य पुर्‍याउनु पर्नेछ । एमालेको तत्कालीन २०३ सदस्यीय केन्द्रीय कमिटीका कम्तिमा ६० जना सदस्य आफ्नो पक्षमा रहेको बैठकस्थलबाट सांसद पार्वती बिशुन्खेले जानकारी दिइन । नेपाल पक्षमा एमालेका २६ जना सांसद पुगेको दावी गरिएको छ । बैठकले अन्तरिम विधान, घोषणापत्र र नियमावली पारित गर्ने तयारी रहेको उनले बताइन ।

No description available.

पार्टी को दस्तावेजका विषयमा केन्द्रीय कमिटीको बैठकमा घनीभुत रुपमा छलफल गरी दस्तावेजलाई पुर्णता दिनका लागी ३५ भन्दा बढी राष्ट्रिय र प्रतिनिधी सभाका सांसद र ६० भन्दा बढी केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको विशुन्खेले जानकारी दिइन ।

यसैबीच सुदूरपश्चिमबाट भीम रावल निकट दीर्घ सोडारी र तारा लामा तामाङ पनि माधव नेपाल पक्षमा लागेका छन् । प्रेम आले, विना बुढाथोकी, निरा जैरु लगायतका सांसद तथा केन्द्रीय सदस्य यसअघि नै नेपाल पक्षमा लागेका थिए । २६ सदस्यीय एमाले स्थायी कमिटीबाट भने बैठकमा माधव नेपाल, मुकुन्द न्यौपाने र बेदुराम भुसालमात्र छन् । झलनाथ खनालको समर्थन रहे पनि उनी दिल्लीमा छन् भने वामदेव गौतम बैठकमा सहभागी भएका छैनन् । नेपाल निकट अन्य १० जना स्थायी कमिटी सदस्यले सोमवार अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटेर १० बुँदे सहमति कार्यन्वयनमा जाने समझदारी गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board