नेपालपक्षका नेताहरु महँगो रिसोर्टमा, अन्तरिम विधान र घोषणापत्र वितरण (घोषणापत्रसहित)

काठमाडौं, ८ भदौ । एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका माधवकुमार नेपालले केन्द्रीय सदस्य र सांसदलाई सुरक्षित राख्न महँगो रिसोर्टमा लगेर राखेका छन् । हिजो उनले आफू पक्षका केन्द्रीय सदस्य र सांसदलाई काठमाण्डौको चन्द्रागिरि हिल्स रिसोर्टमा लगेका हुन ।

नयाँ दल दर्ताको तयारी भइरहेका बेला आफू पक्षका नेताहरूको मन नभाडियोस् भनेर उनीहरुलाई महँगो रिसोर्टमा लगिएको बुझिएको छ । नेपाल पक्षका केन्द्रीय सदस्यहरुले भने दर्ता प्रक्रियामा रहेको पार्टीको छलफल र योजना बनाउन रिसोर्टमा भेला भएको बताएका छन् । नयाँ दल गठनप्रति असन्तुष्ट तेस्रो धारका एमाले नेताहरू एकताको पक्षमा उभिएकाले नेता नेपालले आफू पक्षका केन्द्रीय सदस्य र सांसदलाई रिसोर्टमा राखेका हुन ।

एमालेका तेस्रो धारका नेताहरु र अध्यक्ष केपी शर्मा ओलीबीच हिजो नै १० बुँदे समझदारी कार्यान्वयन गर्ने सहमति बनेको थियो । सहमति भएकै दिन तेस्रो धारका नेताहरूले सांसद र केन्द्रीय सदस्यलाई प्रभावित पार्न सक्ने जोखिम देखेर नेपालले आफू निकट नेताहरूलाई रिसोर्ट पुर्याएको संस्थापन पक्षका एक नेताले बताए ।

ओलीले १० बुँदे समझदारी कार्यान्वयन गर्न आफू तयार रहेको पनि बताएका छन् । नेपालको नेतृत्वमा प्रस्ताव गरिएको नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगले सनाखत गर्न बुधवार बोलाएको छ । यसैबीच,प्रस्तावित नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नयाँ पार्टी गठन गर्नुपरेको बताए । नेपालले गएराति चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकका क्रममा अध्ययनका लागि भन्दै त्यहाँ उपस्थित ४६ जना केन्द्रीय सदस्यहरुलाई पार्टीको अन्तरिम विधान र घोषणापत्र वितरण गरिएको हो । नेपालले ओलीले पार्टी एकताको पक्षमा रहेको भान पार्न अनेक चालबाजी र नाटक गरे पनि एकता अगाडि बढ्न नचाहेको पनि बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति