सामान्यतया यो घटना पत्याउन सक्ने खालको हैन । ‘प्रहरी मेरो साथी’ नेपाल प्रहरीको नारा हो । तर सबै साथी असल र साथीको भलो चिताउने हुँदैनन् । कोही साथी धोका दिएर फसाउने पनि हुन्छन् भन्ने कुराको पुष्टि रौतहट जिल्लामा प्रहरीले पत्रकारका विषयमा देखाएको व्यवहारबाट पुष्टि भएको छ । प्रहरी स्वयमले एकजनाको मोटरसाइकलमा लागू औषध राखेर उनलाई लागूऔषध ओसारपसार गरेको आरोपमा पक्राउ गरेको छ । घटना यही साउन ३२ गतेको हो ।
जिल्ला सदरमुकाम गौरबाट प्रहरीले बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागूऔषध १ सय ५ थान नाइट्राभेटसहित दुईजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका ८ का मोहम्मद मोजिबुल्लाह र राजपुर नपा ७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाह रहेका थिए । यी मध्ये मोजिबुल्लाह स्थानीय सञ्चारकर्मी पनि हुन् ।
कसरी खुल्यो प्रहरीको षडयन्त्र ?
सो घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि प्रहरीनै उनीहरुलाई फसाउन मोजिबुल्लाहको मोटरसाइकलमा राखेको पोल खुलेको हो । शनिबार गौर नगरपालिकाको सभाहलमा नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव मदन ठाकुरले सञ्चारकर्मीहरु माझ सार्वजनिक गरेको सो दिनको सो स्थानको सीसीटीभी फुटेजमा प्रष्ट रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटका सादा पोशाकका प्रहरी प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले गौरस्थित होटल ग्रिन सिग्नल बाहिर पार्किङ्ग गरि खाजा खान गएका मोजिबुल्लाह मोटरसाइकलमा नाइट्राभेट राखेको देखिएको छ ।
भिडियोमा प्रहरी सहायक निरीक्षक यादव तथा प्रहरी जवान मनोज साहले स्थानीय दुई युवाहरुको सहयोगमा मोटरसाइकलमा लागू औषध मोटरसाइकलमा राख्न लगाएका देखिएको छ । प्रहरीले प्रहरीका दुई सहयोगी धिरज यादव तथा जितेश यादवलाई नियन्त्रणमा लिए पनि सीसीटीभीमा देखिएको प्रहरी कर्मचारीलाई भने हालसम्म कुनै कारवाही गरेको छैन् । प्रहरीकै मिलोमतोमानै लागूऔषध राखेर निर्दोष व्यक्तिलाई फसाएको भन्दै नेपाल पत्रकार महासंघ रौतहटले गम्भीर आपत्ति जनाएको छ ।
महासंघका केन्द्रीय सदस्य शिव पुरी, जिल्ला अध्यक्ष प्रमचन्द्र झा लगायतले एक विज्ञप्ति जारी गर्दै रौतहटबाट संचालित रौतहट एक्सप्रेसका संचालक पत्रकार महम्मद मोजिबुल्लाह तथा निज सवार मोटरसाइकलका चालक शेख गुलावलाई पक्राउ गरेको घटनामा महासंघकोे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साह लगायतका घुमुवा प्रहरीहरु तथा अन्य बाहिरि व्यक्तिको संलग्नतामा सो लागू औषध घुमुवा प्रहरीलेनै राखेको कुरा सीसीटीभी फुटेजबाट प्रस्ट भएकोले निर्दोष देखिएका मोजिबुल्लाह तथा गुलावलाइ तत्काल रिहाइ गर्न तथा यस घटनाको सत्य तथ्य छानबिन गरि संलग्न प्रहरी तथा अन्य सबैलाइ कानूनी कठघरामा ल्याउन महासंघले जोडदार माग गरेको छ ।
महासंघले २०७८ भदौ ०७ गते सोमबारसम्म निर्दोष दुबैजनालाई रिहाइ तथा दोषीलाई पक्राउ गरि सार्वजनिक गर्न प्रहरी समक्ष अनुरोध गर्दै रिहा नगरे कानूनी राज्य विधिको शासन, मानव अधिकारको पक्षमा रही चरणबद्ध आन्दोलनमा उत्रन चेतावनी दिएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले निर्दोषलाई फसाउन प्रहरीले गरेको यो कार्य निन्दनीय अपराध भएको भन्दै घटनामा संलग्न सबैलाई तत्काल निलम्बन गरी कारवाही गर्न माग गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय रौतहटले प्रवक्ता प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले यस विषयमा अहिले कुनै प्रतिक्रिया नदिने बताउँदै अनुसन्धान पश्चात मात्र बोल्ने जनाए । आम नागरिकलाई फसाउन प्रहरी आफै लागेको पुष्टि भए पश्चात प्रहरीले यस घटनामा संलग्न जो कोहीँलाई पनि तत्काल कानुनी दायरामा ल्याएर मुख्य षड्यन्त्रकारीको पर्दाफास प्रहरी गर्नुपर्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले बताए ।
क्लोज सर्किट (सीसी) क्यामरामा लागूऔषध राखिदिँदै गरेको देखिने भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटले अनुसन्धान थालेको थियो । त्यसक्रममा घुमुवा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज शाहले नातेदार धिरज यादवलाई प्रयोग गरेर लागूऔषध राखिदिएको पुष्टि भएको हो ।
यस विषयमा प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ । प्रदेश नं. २ प्रहरी उच्च स्रोतका अनुसार प्रहरीद्वय यादव र शाहलाई निलम्बन गरेर अनुसन्धान गर्ने तयारी थालिएको छ ।
रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो । तर हालै भएको अनुसन्धानले होटलमा खाजा खान गएका वेला उनको मोटरसाइकलमा लागूऔषध राखिएको देखिएको छ र संलग्नता नदेखिएपछि छाड्ने तयारी गरिएको स्रोतले अनलाइनखबरलाई बतायो ।
सोमबार दिउँसो एउटा अडियो रेकर्ड पनि सार्वजनिक भएको छ, जसमा असई उदय यादवले भनेका छन्, ‘सेतो हेलमेट देखिएको छ, त्यो धिरजलाई सेतो हेलमेट हटाएर अर्को हेलमेट प्रयोग गरेर मोटरसाइकल चलाउन भन्नु ।’ अडियोमा उनले सीसी टीभी फुटेज मेटाउन लागेको बताएका छन् ।
‘सबै वस्तुस्थितिले घटनामा पत्रकार मोहम्मदको संलग्नता देखिएन’ स्रोतले भन्यो । तर घटनामा प्रहरी मात्रै दोषी नभएको एक प्रहरी अधिकृतले बताए । उनले भने, ‘पत्रकार महासंघको जिल्ला शाखाकै एक पदाधिकारीले व्यक्तिगत रिसिइबीका कारण दुई प्रहरी प्रयोग गरेर घटना गराएका रहेछन् ।’
प्रतिक्रिया