काठमाडौँ, ६ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन्का सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गरे ।उक्त उत्खनन् भएपछि मुलुकको आर्थिक उन्नतिमा ठूलो योगदान पुग्ने भएकाले यस काममा ढिलाइ गर्न नहुने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीको निवास बालकोटमा कर्णाली प्रदेशका नागरिक र पत्रकारसँग आज भएको भेटघाटमा उहाँले ठूला पूर्वाधार विकास समयमा सम्पन्न भएमा त्यसको लाभ जनतालाई हुने भएकाले यस्ता काममा निरन्तर खबरदारी गर्न आग्रह गरे । अध्यक्ष ओली प्रधानमन्त्री हुँदा दैलेखको नाभिस्थान, शिरस्थान, पादुका, धुलेश्वर, कोटीलालगायतका क्षेत्रमा चीन सरकारसँग जिटुजी सम्झौता गराइ सम्भाव्यता अध्ययनको काम थालिएको थियो ।अध्यक्ष ओलीले कर्णालीले दैलेखमा भएको पेट्रोल खानीको उत्खनन्, मुगुको रारा तालको प्रवर्दन, हुम्ला हुँदै मानसरोवर जाने मार्गको विकास, डोल्पा, मुगु र हुम्लामा पाइने जीवनबुटी (यार्सागुम्बा) लगायतका बहुमूल्य जडीबुटीको बुद्धिमतापूर्ण सङ्कलन र प्रशोधनको कामको थालनी भएमा सो प्रदेशको पहिचान नै बदलिने बताए साथै भेटमा सहभागी दैलेखका पत्रकार विष्णु शर्माले जानकारी दिए।
कर्णाली प्रदेश स्रोतसाधनमा धनी भएकाले हावाबाट बिजुलीको उत्पादन, जडीबुटीको पहिचान र प्रशोधन पनि गर्न सकिए प्रदेशका साथै देशकै समृद्धि हुने भएकाले आफूहरुले राजनीतिक नेतृत्वलाई निरन्तर ध्यानाकर्षण गराउने सो प्रदेशका पत्रकार नवराज महताराले बताएका छन्।
प्रतिक्रिया