अष्ट्रेलियामा लकडाउनको निर्णयविरुद्ध प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडौं, ५ भदौ । अष्ट्रेलियामा जारी लकडाउन निर्णयविरुद्धमा हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन्। प्रहरीले सिड्नीबाट प्रदर्शनमा उत्रिएकामध्ये कम्तिमा २१८ प्रदर्शनकारीलाई पक्राउ गरेको छ।प्रदर्शनकारीले लकडाउनको नियम उलङ्घन गरेको भन्दै प्रहरीले उनीहरुलाई प्रदर्शनमा रोक लगाएको थियो। प्रहरीको आदेश अस्वीकार गर्नेलाई प्रहरीले गिरफ्तार गरेको हो। प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीचमा झडपसमेत भएको छ। झडपमा कम्तीमा एक दर्जन प्रहरी अधिकारीसमेत घाइते भएका थिए।दैनिक सङ्क्रमितको सङ्ख्या बढेसँगै यहाँको न्यू साउथ वेल्स राज्य सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बरसम्म लकडाउन लागू गर्ने निर्णय गरेको थियो। महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई निरन्तरता दिनु आवश्यक रहेको ठहर गर्दै अधिकारीले लकडाउनको म्याद थप गर्ने निर्णय गरेका हुन्।यस क्षेत्रमा लामो समयदेखि लकडाउन जारी छ। सिड्नी र आसपासका क्षेत्रमा लागु गरिएको लकडाउन यही अगष्ट २८ मा सकिनै लाग्दा सरकारको नयाँ निर्णयले थप एक महिना लकडाउन लम्बिने छ।शुक्रबार रातिसम्म कोरोना संक्रमणको पछिल्लो रेकर्ड तोड्दै न्यु साउथ वेल्समा ८२५ मानिसमा कोरोना संक्रमण पुष्टी भएको छ भने तीन जनाको मृत्यु भएको छ। सक्रमितहरू मध्ये करिब ७३३ जना समुदायमा सक्रिय रहेका कारण पनि यसले भयावह रुप लिनसक्ने चेतावनी विज्ञले दिएका छन्। भाइरसका कारण मृत्यु हुनेमा एक ९० वर्ष र अर्को ८० वर्ष माथिका पुरूष र ९० वर्ष माथिकी एक महिला छन्। प्रहरीले लकडाउन विरूद्ध प्रदर्शनलाई रोक्न १५ सय प्रहरीलाई परिचालन गरेको थियो। प्रदर्शनलाई मध्यनजर गर्दै सिड्नी ट्रेनका मुख्य स्टेसनहरूमा ट्रेन नरोकिने र सिड्नी सिबिडीमा ट्याक्सीलगायतका यातायात साधन प्रवेशमा समेत रोक लगाइएको थियो। यस्तै सिड्नीमा पक्राउ परेका ४७ जनालाई कोभिडको प्रतिबन्ध तोडेको कारण सर्वाधिक जरीवानासमेत गराइने प्रहरीले जनाएको छ।
प्रक्राउ परेका हरेक प्रर्दशनकारीले ६ हजार ४ सय ५२ डलर जरिवाना तिर्नुपर्ने प्रहरीले जनाएको छ।यस्तै भिक्टोरियाको मेलवर्नमा ६१ नयाँ स्थानीय संक्रमण पुष्टि भएको र ३९ जना सक्रमित समुदाय सक्रिय रहेको भेटिएको छ‍। रात्री कर्फ्यू र लक डाउनका कारण निकै पिल्सीएका स्थानीयको ठूलो भीड सडकमा निस्किएपछि प्रहरीसँग झडपसमेत भएको थियो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board