पौडेल पक्षका जिल्ला सभापतिको माग– ७ गतेभित्र त्रुटि सच्याऊ नत्र अनशन बस्छौं

काठमाडौं, ५ भदौ । नेपाली कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सूचीका त्रुटि यही भदौ ७ गतेभित्र सच्याउन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । उनिहरुले विधिसम्मत ढंगले त्रुटि सच्याएर सार्वजनिक नगरे भदौ आठ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा अनशन बस्ने चेतावनी समेत दिएका छन् ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवालाई इमेलमार्फत् जिल्ला सभापतिहरुले तीन बुँदे माग पठाएका हुन । ‘क्रियाशील सदस्यता सूचीका त्रुटि सच्याउनुपर्ने लगायतका माग सात गतेभित्र पूरा नभए धर्ना अनशन लगायतका आन्दोलन गर्ने जानकारी सभापतिलाई गराएका छौं,’ नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले भने । अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्ड अनुसार छानविन गरी सदस्यता सूचीलाई अन्तिम रुप दिनुपर्ने र सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।‘हाम्रो उपरोक्त मागहरुलाई सम्बोधन गर्नेगरी यही भाद्र ७ गतेभित्र आवश्यक कदम नचालिएमा भोलिपल्टदेखि (भाद्र ८ गते) बाट केन्द्रीय कार्यालयमा धर्ना, अनशन लगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन हामी बाध्य हुने होरा जानकारी गराउँछौं,’ सभापति देउवालाई इमेलमार्फत् पठाइएको मागपत्रमा लेखिएको छ ।नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद पेचिलो बन्दा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पटक–पटक संशोधन गरिएको छ । पछिल्लोपटक कांग्रेसले मंसिर ९–१३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सदस्यता विवाद सुल्झाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय कार्यदललाई जिम्मा दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति