काठमाडौं, ४ भदौं । नेकपा एमालेका पूर्व वरिष्ठ नेता झलनाथ खनालले अर्का वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा गठित नयाँ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लाई आफ्नो साथ र समर्थन रहेको बताएका छन् ।
नेता खनालले भारतको दिल्लीस्थित अस्पतालबाटै आफू अहिलेको नयाँ दलमा आबद्ध भएको कुरा सबैलाई जानकारी गराएको उनको सचिवालयले जनाएको छ । सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनाल ज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को साथ र समर्थनमा रहनु भएको सम्पूर्णमा जानकारी गराउँदछौं ।’
यस्तै खनालले इलामका सञ्चारकर्मीहरुसँग अनलाइन संवाद गर्दै दक्षिणपन्थी अवसरवादको चपेटामा नेतृत्वले पार्टीलाई पुर्याएकाले क्रन्तिकारी विचारसहित पार्टीलाई अघि बढाउन आग्रह गरेका छन् ।
‘एकीकृत पार्टी बनाइसकेका थियौं त्यसलाई वर्तमान नेतृत्वले ध्वस्त पार्यो,’ उनले भने, ‘सर्वसम्मत ढंगले संविधानसभाबाट राम्रो संविधान बनाए पनि नेतृत्वले च्यातच्युत पार्यो ।’ संसदलाई ध्वस्त पारेर जनमतलाई वर्तमान नेतृत्वले लत्याउन खोजेको आरोप समेत उनले लगाए ।
अहिलेको नेतृत्वले नेताहरुलाई एकपछि अर्को कारबाही गर्ने र पूर्वाग्रहीरुपमा हेर्ने गरेको उनको भनाइ छ । समाजवादलाई लक्ष्य मानेर पार्टी पुनर्गठनको विकल्प नरहेको बताउँदै उनले पार्टीका सबै नेता कार्यकर्तालाई बिना हिच्किचाहट पहलकदमी लिएर अघि बढ्न आग्रह गरेका छन् ।
सबै नेता कार्यकर्तालाई आह्वान गर्दै नेता खनालले ३२ सालमा ८ जना मिलेर पार्टी पुनर्गठन गर्न सुरु गरेर यहाँसम्म ल्याएको धारणा राखे । वार्ता र संवादमार्फत सहमतिको ढोका सधैं खुल्ला रहेको बताउँदै दक्षिणपन्थी अवसरवादको अलमलमा परेका सबैलाई एकाताबद्ध भएर अघि बढ्ने समय आएको उनको भनाइ थियो ।
प्रतिक्रिया