धेरैलाई ठगी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ

काठमाडौं, ३ भदौ ।  नक्कली कागजात बनाई ठगी गरेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बुधबार साँझ ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ५ सेतीपाखाबाट रविकुमार सिंहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

उनका अनुसार सिंहले विभिन्न बहानामा धेरै व्यक्तिहरूलाई ठगी गरेका छन्। ठगिएपछि पीडितहरूले रविकुमार सिंहको नक्कली नागरिकताको प्रतिलिपी नै प्रहरीलाई बुझाएका थिए।

उनको नागरिकतामा सुर्खेत साविक लाटीकोइली गाविस वडा नम्बर ७ मा जन्मिएको र कैलाली टीकापुर नगरपालिका वडा नम्बर ९ बासस्थान भएको उल्लेख छ।

नागरिकतासहितको प्रतिलिपी राखेर महाशाखामा पीडितहरूले उनीविरूद्ध जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
उसले विभिन्न बहाना बनाएर धेरै व्यक्तिहरूलाई ठग्ने गरेको रहेछ। कुख्यात ठग रहेछ, कोइरालाले भने,आज मात्रै आठ जना ठगिन पुगेका पीडितहरू हाम्रो सम्पर्कमा आउनुभयो। अझै धेरै आउनसक्छन्।

उनले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ बस्ने हरि मल्ल र महेन्द्रकुमार श्रेष्ठबाट ४३ लाख रुपैयाँ ठगी गरेको महाशाखाले जनाएको छ। बुटवल-नारायणघाट सडकखण्डको दायाँबायाँको रुख कटानको सब-कन्ट्र्याक आफूसँग भएको उनले बताएका थिए।

सिंहले हरि र महेन्द्रकुमारलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियर कर्पोरेसन लिमिटेडको कागजात समेत देखाएर ठगेको प्रहरीले जनाएको छ।
त्यसरी आफूसँग लगानी गरेमा ४० प्रतिशत मुनाफा पाइने भनेर सिंहले दुबै जनाको विश्वास जितिसकेका थिए। तर पछि उनले पैसा नभएको चेक काटेर दिई ठगी गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।

त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ बस्ने अलिन गुरूङलाई सिंहले आफू अञ्जुली कन्स्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर हुँ भनेर चिनाए। त्यसरी उनले २०७६ वैशाखमा गुरूङको बा १२ च ३८५९ नम्बरको स्विफ्ट डिजायर कार भाडामा लिने र मासिक ९० हजार रुपैयाँ तिर्ने आश्वासन दिलाए। तर गाडी लिएपछि भने उनी सम्पर्कबिहीन भए।

फेरि सोही कार प्रयोग गरी अर्कै व्यक्तिलाई ठगी गरेको पाइएको प्रहरी उपरीक्षक कोइरालाले बताए। उनले भक्तपुर घर भइ काठमाडौं-३१ बस्ने प्रदिप रायलाई आफूलाई पैसाको खाँचो परेको कुरा सुनाए। त्यसपछि उनले सोही कार र ब्लुबुक धितो बन्धकी राख्ने बताए।

त्यसबापत उनले आठ लाख ३५ हजार रुपैयाँ लिएको आरोप छ। उनले रायलाई बुझाएको ब्लुबुक पनि नक्कली भएको पाइएको प्रहरी उपरीक्षक कोइरालाले बताए।

सक्कल बिलबुक आफैँसँग राख्यो। अहिले भिजेर यातायातमा बनाउन दिएको छु भनेर नक्कली फोटोसप गरेर उनीहरूलाई दिएको देखियो, कोइरालाले भने।

सिंहले चुरियामाई ईन्टरप्राइजेज जडिबुटीका सञ्चालक कृष्णहरी गौतमसँग बजाज कम्पनीको बा ९५ प १६८ नं. को डोमिनार-४०० सिसीको मोटरसाइकल किन्न खोजे। सो बाइक उनले तीन लाख ३० हजार रुपैयाँ किन्ने बताएका थिए। गत पुस २९ गतेमा उनले ३० हजार रुपैयाँ तिरेर बाँकी पैसा अरू बेला दिने भन्दै बाइक लिएर निस्किए। तर उनी त्यसदिनपछि कहिल्यै भेटिएनन्।

त्यसैगरी जनकपुरधामस्थित न्यू साह एण्ड ईन्टरप्राइजेजका सञ्चालक प्रदिपकुमार साहलाई उनले रोयल हाइड्रो कन्स्ट्रक्सन प्रालीका म्यानेजिङ डाइरेक्टर भनेर चिनाएका थिए। उनले साहलाई आफ्नो भिजिटिङ कार समेत दिए। र मारुती सुजुकी कम्पनीको प्रदेश ३-०१/ ०२३ च ००५० नम्बरको ब्रिजा कार लिने बताए। त्यहाँ पनि उनले मासिक रूपमै पैसा तिरेर कार लिने बताएका थिए।

साहलाई उनले एक लाख ५० हजार रुपैयाँ भाडा दिने भन्दै कार लगे। त्यसपछि सधैँझै उनी सम्पर्कबिहीन भए। अहिले भने प्रहरीले सो कारसहित उनलाई नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ।

साथै एक संस्थाको नाम तथा कागजातहरू दुरूपयोग गरी उनले करिब एक करोड रुपैयाँ ठगी गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। उनले काठमाडौंको लाजिम्पाटस्थित रोयल हाइड्रो कन्स्ट्रक्सन प्रालिको नक्कली लेटरप्याड, कम्पनीको छाप, दस्तखत प्रयोग गरीविभिन्न व्यक्तिहरूलाई आफू संस्थापक भनेर चिनाएका थिए।

त्यसरी उनले विभिन्न व्यक्तिहरूबाट करिब एक करोड रुपैयाँ ठगी गरेको आरोप छ। रोयल हाइड्रो कन्स्ट्रक्सन प्रालिका वास्तविक संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर शाही र प्रेमबहादुर शाहीले उजुरी दिएका थिए।

उनीविरूद्ध पहिले नै केही जाहेरी परिसकेको थियो। तर यो मान्छे भागेर हिँडिरहेको रहेछ। थप जाहेरी आएपछि पक्राउ पर्‍यो,कोइरालाले भने, पक्राउ परेपछि फेरि थप मान्छे सम्पर्कमा आए।

प्ररम्भीक अनुसन्धानपछि प्रहरीले प्राप्त गरेको नागरिकता समेत नक्कली भन्ने खुलेको कोइरालाले बताए। सोही नागरिकता पेश गरी उनले विभिन्न बैंकमा खाता खोलेका छन्। जसमार्फत् उनले ठगी गर्दै आएको प्रहरीको दाबी छ।

उनले प्रयोग गर्ने गरेको सवारी चालक अनुमतिपत्र समेत किर्ते गरी बनाएको खुल्न आएको हो। उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंमा पठाएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board