लुम्बिनीका नेपालनिकट सांसद तत्काल एमाले समाजवादीमा नजाने

काठमाडौँ, ३ भदौ ।  लुम्बिनी प्रदेश सभामा रहेका नेकपा एमालेका सांसदहरू माधवकुमार नेपालले खोलेको नयाँ दल नेकपा एमाले समाजवादीमा तत्काल नजाने भएका छन्।

यसअघि नेता नेपाल पक्षमा रहेका प्रदेश सभा सदस्य विष्णु पन्थी र रमा घर्ती अहिले पर्ख र हेरको अवस्थामा छन्।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश आएको छ।तर लुम्बिनीका सांसदहरूले तत्काल दल परिवर्तन गर्ने अवस्था देखा परेको छैन। कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित सांसद पन्थी २०७० देखि नै नेपाल पक्षमा छन्।

तर उनी पार्टी विभाजनको पक्षमा आफू नरहेको बताइरहेका छन्।‘म पार्टी विभाजनको पक्षमा छैन,’ उनले भने, ‘कपिलवस्तुमा समानान्तर समिति अध्यक्ष भएर पनि काम गरेको हुँ। नेता नेपालले राखेका भेलामा पनि काठमाडौंमा म सहभागी थिएँ। तर म पार्टी विभाजनको पक्षमा छैन।’उनले एमालेभित्रै रहेर १० बुँदे सहमति कार्यान्वयन गर्न पहल गरिराख्ने बताए। उनले आफूहरू विभाजन गर्ने पक्षधर नभएको बताए। कार्यदलले बनाएको १० बुँदे कार्यान्वयन भए एमालेमै बस्ने उनले बताए।

अर्का सांसद रमा घर्तीले आफू विभाजनको पक्षमा नरहेको बताइन्।‘म पार्टी विभाजनको पक्षमा छैन। जनताका लागि राजनीतिक गरेकोले मुलधारको पार्टी र सूर्य चिन्ह छाड्न सक्दिनँ,’ उनले भनिन्।

उनले नेता नेपालले पार्टी दर्ता गर्न निवेदन दिए पनि अझै सहमति हुन सक्ने भन्दै केही दिन हेर्ने बताइन्। ‘नयाँ दल दर्ता गरे पनि पार्टी एकता हुनेमा म विश्वस्त छु,’ उनले भनिन्।उनी पाल्पाबाट समानुपातिकतर्फ निर्वाचित भएकी थिइन्।पन्थी र घर्ती नै पार्टी विभाजनको विपक्षमा रहेपछि नेता नेपालले नेतृत्व गरेको एमाले समाजवादीमा लुम्बिनीमा एक जना पनि सांसद नहुने अवस्था देखिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति