अहिले नयाँ पार्टी खोलौं, पछि भेट पनि हुनसक्छ – नेता नेपाल


काठमाडौँ, १ भदौ । दल विभाजनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि एमाले नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी खोल्ने गरी तयारी थालेको छ । आफू निकट जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब नयाँ अभ्यासमा जाने उद्घोष गरेका हुन् । उनले एजेण्डा मिल्नेहरूसँग एकताको ढोका भने सधैं खुल्ला राख्ने उल्लेख गरेका थिए । ‘हामीले फेरि नयाँ पार्टी खोलिहाल्यौंं भने एकताको ढोका खुल्ला हुनेछ,’ नेता नेपालले भेलालाई सम्बोधन गर्दै भने, ‘तीन महिना एक वर्षपछि भेट पनि हुन सक्छ ।’ उनले चुनावमा सिटको तालमेल गरेर जान सकिने र चुनाव पछि पनि भेट हुने सम्भावना भने रहेको उल्लेख गरे । हाललाई पार्टीबाट अलग भएर तत्काल अन्य दलमा आबद्ध नहुने उनको भनाइ थियो ।उनले देशव्यापी रुपमा संगठन विस्तार गर्न सक्रिय हुन निर्देशन दिँदै भने, ‘हाम्रो सामु समाजवाद छ । परिवर्तनको एजेण्डा छ । क्रान्तिकारी एजेण्डा र संकल्पकासाथ जुट्नुहोस्, कमिटी बनाउन अघि बढ्नुहोस्, सदस्यताको विस्तार गर्नुहोस्, प्रत्येक वडावडामा बुझ्दै जानुहोस्,’ नेता नेपालले भने, ‘प्रदेश–प्रदेशमा पनि आफ्नो संगठन बनाउन लाग्नुहोस् ।’उनले घुमाउरो बाटोबाट हिँड्नुपर्ने हुँदा कहिले दायाँ र बायाँ लाग्नुपर्ने अवस्था आउने बताए । ‘कहिले एकता त कहिले विभाजनको प्रक्रियाबाट जुट्नुपर्छ तर, फेरि नयाँ चरणमा भेट हुनेछ । राम्रो संस्कार र बानी व्योहोरा पालना गरौं । सभ्य र सुसंस्कृत बनौं । जीत हाम्रो अवश्यम्भावी छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति