दुबईले दियो नेपाल वायुसेवालाई उडान अनुमति

काठमाडौँ, ३१ साउन । दुबई नागरिक उड्डयन प्राधिकरणले पीसीआर परीक्षण गरेको रिपोर्टका आधारमा नेपाल वायुसेवा निगमलाई उडान भर्न अनुमति दिएको छ । निगम स्रोतका अनुसार दुबई प्राधिकरणले हिजो राति पौने १२ बजे निगमलाई नेपालमै पीसीआर परीक्षण गरेको रिपोर्टका आधारमा उडान अनुमति दिएको हो ।

अब निगमले सोमबार र बुधबार गरी साताको दुईवटा उडान भर्न पाउने भएको छ । यसअघि निगमका यात्रुलाई पीसीआर परीक्षण गरे पनि दुबई प्राधिकरणले मान्यता दिएको थिएन । गत साउन २५ गते राति बोर्डिङ गर्न लागेको बेला दुबईले यात्रु लिएर आउन निगमको जहाजलाई रोक लगाएको थियो । दुबईले काठमाडौं मेडिकल कलेजबाट गरिएको पीसीआर परीक्षणलाई मान्यता दिएको थिएन । दुबईले रोक लगाउँदा निगमका ६० यात्रु अलपत्र परेका थिएन । निगमको न्यारोबडी जहाज (एकेएक्स, उडान नम्बर आर ए २९९) लाई उडाएर क्याप्टेन सञ्जय वैद्य रित्तै गए र आज बिहान एक सय ४० यात्रु लिएर फर्केका थिए । तर निजी क्षेत्रको हिमालयन एयरलाइन्सलाई भने सोही कलेजले विमानस्थलमै स्थापना गरेको ‘हेल्थ डेस्क’ बाट गरिएको पीसीआर परीक्षणलाई मान्यता दिएको थियो । निगम स्रोतका अनुसार सोमबार राति साढे एघार बजे र बुधबार सोही समयमा साताको दुईपटक निगमले दुबईका लागि उडान भर्ने तयारी गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति