काठमाडौं, ३१ साउन । दक्षिण एसियाली मुलुक अफगानिस्तानमा फेरि चर्किएको घरेलु द्वन्द्वसँगै बढेको राजनीतिक संकटले त्यहाँ रहेका १४ हजारभन्दा बढी नेपाली कामदारको सुरक्षाप्रति चिन्ता जगाएको छ । यता प्रमुख विपक्षी दल नेकपा एमालेले अफगानिस्तानमा रहेका नेपाली नागरिक स्वदेश फर्काउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेको छ । एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराईले ले अन्य मुलुकहरुले आफ्ना नागरिक फर्काउन थालिसकेको भन्दै सरकार अनुत्तरदायी बनेको आरोप लगाउनुभयो । भट्टराईले आफ्नो वक्तव्यमा भनेका छन्, ‘अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन कुनै पहल गरिराखेको छैन। लोकतन्त्रमा सरकार यति गैरजिम्मेवार र अनुत्तरदायी हुन मिल्छ ? कि परमादेशबाट आएकालाई मिल्छ ?’ अफगानिस्तानको राजधानी काबुलबाहेकका शहर तालिवान विद्रोहीको नियन्त्रणमा गइसकेका छन् । धेरै मुलुकहरुले आफ्ना देशका नागरिक धमाधम फिर्ता लगिरहेका छन् । अफगानिस्तानमा रहेका बेलायत, अमेरिकासहित राष्ट्रसंघीय निकायको आग्रहमा सुरक्षा–कामदार पठाउने गरिएको छ । तर ‘ग्रिन जोन’ मै समेत आत्मघाती विस्फोटलगायतका घटनाबाट नेपालीले ज्यान गुमाइरहेका छन् । विष्मयको कुरा के छ भने, सुरक्षा–कामदार लैजानुपर्दा नेपाल सरकारलाई प्रभाव–दबाब दिने अन्तर्राष्ट्रिय निकायहरूले तिनको जीवनरक्षा तथा उद्धारका विषयमा भने सधैंजसो मौनता साध्ने गरेका छन् । ५ वर्षअघि एउटा आत्मघाती हमलामा काबुल क्षेत्रनजिकै १३ नेपाली सुरक्षा कामदारको ज्यान गएको थियो ।
अफगानिस्तानबाट नेपाली फर्काउन पहल नगरेको भन्दै एमालेद्वारा आलोचना
प्रतिक्रिया