अफगानिस्तामा युद्ध हाँक्ने तालिवान का मुख्य नेताहरू को को छन् ? यस्तो विवरण

काठमाडौँ, ३१ साउन । पास्तो (पास्तुन जातिको) भाषामा तालिवान भनेको विद्यार्थी हो । धर्मरक्षक यो ‘विद्यार्थी’ उग्रपरम्परावादी समूह हो । धर्मलाई जगेर्ना गर्ने नाममा तालिवान पुरातन सोच र संस्कृतिअनुसार प्रशिक्षित छ ।

अमेरिकी सेना अफगानस्तान आउनुअघि सत्ता सञ्चालन गर्दा तालिवानले १० वर्षभन्दा बढी उमेरका किशोरीलाई औपचारिक शिक्षा लिन बन्देज लगाएको थियो । घरभित्र या बाहिर, महिलालाई बुर्का अनिवार्य थियो । यस्ता, नियम उल्लंघन गरेको खण्डमा त्यसबेला हदैसम्मको सजाय दिने गरिन्थ्यो ।

मुस्लिम कट्टरपन्थी तालिवान समूहको विशेषता धर्मलाई केन्द्रमा राख्दै पुरातन सोच र संस्कृतिअनुसार शासन चलाउनु हो । विश्व प्रविधिको युगमा प्रवेश गरिसकेको सन्दर्भमा अफगानिस्तान भने उही पुरानै युगमा फर्किन लागेको भन्दै अफगानी जनता चिन्तित छन् । त्यसमा पनि बाँचिने हो कि होइन भन्ने अन्योलमा हजारौं नागरिक सुरक्षित बासस्थलको खोजीमा भौंतारिरहेका छन् ।
अमेरिकी नेतृत्वको नेटो (नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन) सेनाले अफगानिस्तान छाडेपछि विद्रोही तालिवानले सत्ताकब्जा गर्न सरकारी सुरक्षाकर्मीविरुद्ध आक्रमण तीव्र बनाएको छ ।

अफगानस्तानका ३४ मध्ये १८ प्रान्तका राजधानी पछिल्लो एक सातामा तालिवान समूहले कब्जा गरिसकेको छ । यो समूह राजधानी काबुल कब्जाका गर्नका लागि अघि बढिरहेको छ ।

सन् २००१ मा अमेरिकी फौज अफगानिस्तानमा छिर्नुअघि सत्ता सञ्चालन गरेको तालिवान समूह अहिले पुनःसिंगा मुलुकलाई कब्जा गर्ने रणनीति अनुरुप अघि बढिरहेको छ । पश्चिमा मुलुक समर्थित सरकारको विरुद्धमा तालिवान सन् २००१देखि नै अफगानस्तानमा विद्रोह गर्दै आइरहेको छ ।
तालिवानका संस्थापकक मुल्लाह मोहम्मद ओ‌मर हुन् । सन् २००१मा अमेरिकी सेना अफगानस्तानमा ओर्लिएसँगै तालिवानले सत्ता गुमाएको थियो । त्यहि बेलादेखि ओमर लुकेका थिए ।

ओमरको अवस्थाबारे मृत्यु भएको दुई वर्षपछि मात्रै उनका दुई छोराहरुले सार्वजनिक गरे । ओ‌मरको मृत्यु सन् २०१३मा भयो ।
अहिले तालिवानले अफगानस्तान कब्जा गरिरँदा यसका नेतृत्वकर्ताहरु को छन् त ? यसबारे चासो भइरहेका छन् ।

हेईबुतल्लाह अखुन्जादा

हेईबुतल्लाह तालिवान समूहका सर्वोच्च नेता हुन् । उनलाई तालिवानको राजनीतिक,धार्मिक तथा सैन्य मामिलासँग सम्बन्धित सबै विषयहरुमा निर्णय लिने अधिकार छ । उनलाई समूहभित्र ुविश्वासयोग्य नेताको रुपमा चित्रण गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अखुन्जादाले यो समूहको नेतृत्व सन् २०१६ देखि लिएका हुन् । यसअघिका प्रमुख अख्तर मन्सुर अफगान–पाकिस्तान बोर्डरमा सन् २०१६मा अमेरिकी ड्रोन हमलामा मारिएपछि अकुन्जादाले तालिवान समूहको नेतृत्व सम्हालेका हुन् ।

अखुन्जादाले यसअघि दक्षिणपश्चिम पाकिस्तानस्थित कुचलक सहरको एक मस्जिदमा पढाउने काम गर्ने गरेको अलजिजारले जनाएको छ । उनले त्यहाँ १५ वर्षसम्म पढाए । सन् २०१६को मेदेखि उनी त्यहाँबाट अचानक सम्पर्कविहीन बनेका थिए ।
अखुन्जादाको उमेर ६० को हाराहारी रहको बताइएको छ । उनको पछिल्लो अवस्थाबारे अज्ञात छ ।

मुल्लाह मोहम्मद याकुब

तालिवानका संस्थापक मुल्लाह ओमरका छोरा हुन् याकुव । उनी तालिवान समूहका सम्पूर्ण सैन्य गतिविधि तथा आक्रमणको निरीक्षण तथा व्यवस्थापकीय कार्य हेर्छन् । उनी हाल अफगानस्तानमै रहेको बताइएको छ ।

नेतृत्व हस्तान्तरणको विषयमा टसल हुँदा उनलाई धेरै पटक सर्वोच्च नेताको रुपमा प्रस्ताव गरिएको थियो । तर उनले अखुन्जादालाई अघि सारेका थिए । उनले त्यसबेला आफू युवा अवस्था रहेको,सैन्य र युद्ध सम्बन्धीको अनुभव नभएको बताउँदै अखुन्जादालाई प्रस्ताव गरेका एक तालिवानी कमान्डरको भनाई उद्धृत गर्दै अलजिजारले लेखेको छ । याकुबको उमेर ३०को हाराहारीमा रहेको बताइएको छ ।

सिराजुद्दीन हक्कानी
सिराजुद्दीन हक्कानी मुज्जाहद्दीन कमान्डर जालालुद्दिन हक्कानीका छोरा हुन् । सिराजुद्दीनले तालिवानको हक्कानी नेटवर्कको नेतृत्व छन् । यो समूह अफगान-पाकिस्तान सीमामा तालिवानको वित्तिय तथा सैन्य सम्पत्तिको निगरानी र व्यवस्थापन गर्छ ।

अमेरिकाले सिराजुद्दीन हक्कानी सम्बन्धी निकालेको सूचना ।

हक्कानी समूह अफगानस्तामा हुने विभिन्न ठूला आत्मघाती बम विस्फोटका घटनाहरुमा संलग्न हुने गरेको बताइएको छ । यो समूहले तत्कालीन राष्ट्रपति हमिद कर्जाईको हत्या प्रयास र भारतीय दूतावासमा आत्मघाती विस्फोट प्रयास गराएका थिए । हक्कानीको उमेर ४० देखि ५०को बीचमा रहेको बताइएको छ । उनको अवस्था पनि अज्ञात छ ।

मुल्लाह अब्दुल घानी बरादार

बरादार तालिवानका संस्थापक नेतामध्येका एक हुन् । उनी तालिवानको राजनीतिक कार्यालयका प्रमुख हुन् । उनी यो समूहको वार्ता टोलीको एक हिस्सा हुन् जुन समूह दोहामा बसेर राजनीतिक सम्झौता गर्ने प्रयास गर्छ । यो समूहले गरेको वार्ता युद्धविरामको बाटो प्रशस्त गर्न पनि सक्ने बताइन्छ ।तर पछिल्लो समय यो वार्ता कार्य रोकिएको छ ।
बरादारा मुल्लाह ओमरका सबैभन्दा विश्वासिला व्यक्ति हुन् । उनी सन् २०१०मा पाकिस्तानको कराँची सहरबाट सुरक्षाकर्मीहरुले पक्राउ गरेका थिए । उनी सन् २०१८मा रिहा भएका थिए ।

सेर मोहम्मद अब्बास स्तानिकजाई

उनी तालिवानका तत्कालीन सरकारका उपमन्त्री हुन् । उनले करिब एक दशक दोहामा बसेका छन् । उनी सन् २०१५ देखि दोहास्तित राजनीतिक कार्यालयको प्रमुख पनि हुन् ।

उनी अफगान सरकारसँग हुने वार्तामा सहभागी हुने गरेका छन् भने विभिन्न कूटनीतिक वार्तामा पनि सहभागी हुने गरेका छन् ।

अब्दुल हकिम हक्कानी

उनी तालिवानी वार्ता समूहका प्रमुख हुन् । उनी तालिवानका पूर्व छाया प्रधानन्यायाधीश हुन् । उनी यो समूहको धार्मिक परिषद् समूहको प्रमुख हुन् । उनी अखुन्जादाका विश्वासिला व्यक्तिरको रुपमा चिनिन्छन् ।

दोहा सम्झौता
तालिवानले अमेरिकासँग २०१८ मा संवाद सुरु गर्यो । फेबु्रअरी, २०२० मा दोहामा दुई पक्षबीच सम्झौता भयो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता लैजाने प्रतिबद्धता जनायो । र, तालिवान पनि अमेरिकी सैनिकमाथि हमला बन्द गर्न सहमत भयो । 

सम्झौतामा तालिवान आफ्नो नियन्त्रण रहेका क्षेत्रमा अलकायदा र अन्य चरमपन्थी संगठनलाई प्रवेश नदिन तयार भयो । राष्ट्रिय स्तरको शान्तिवार्तामा सहभागी हुने भरोसा पनि तालिवानले दिलायो । 

तर, सम्झौताको वर्ष दिनमै तालिवानले अफगानिस्तानका सर्वसाधारण र सुरक्षाबललाई निशाना बनाउन थाल्यो । अहिले जब अमेरिका अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने तयारीमा लाग्यो, तब तालिवान समूह भने देशमा प्रभाव बिस्तार गर्न थाल्यो ।

तालिवानी निशानामा मलाला युसुफजाई
तालिवानले आफ्नो कूटनीतिक सम्बन्ध तोडेको अन्तिम देश पाकिस्तान थियो । एक समय यस्तो पनि आयो, जतिखेर तालिवानले उत्तरपश्चिममा आफ्नो नियन्त्रण रहेको क्षेत्रबाट पाकिस्तानमा अस्थिरता निम्त्याइदिने धम्कीसमेत दियो ।

यसै क्रममा तालिवानी चरमपन्थीले २०१२ अक्टोबरमा मिंगोरा नगरस्थित आफ्नो विद्यालयबाट घर फर्किरहेकी मलाला युसुफजाईलाई गोली हानेको थियो । तालिवानीको अत्याचारका विरुद्ध १४ वर्षीया मलालाले छद्म नाममा लेख लेख्ने गर्थिन्, सोही कारण तालिवानी रिसाएका थिए । घटनामा मलाला गम्भीर घाइते भइन् । त्यो हमलाको अन्तर्राष्ट्रिय स्तरमै निन्दा भएको थियो । 

त्यसको दुई वर्षपछि तालिवानी चरमपन्थीहरुले पेशावरको एक विद्यालयमा हमला गरे । त्यसपछि भने पाकिस्तानमा तालिवान प्रभाव निकै कम हुन थाल्यो । २०१३ मा अमेरिकी ड्रोन हमलामा तालिवानी हकिमुल्ला मेहसुदसहित तीन शीर्ष नेता मारिए । 

अलकायदाको ठेगाना
सन् २००१ सेप्टेम्बर ११ तारिखका दिन न्युयोर्क वल्र्ड ट्रेड सेन्टरमा भएको हमलापछि संसारको ध्यान तालिवानमाथि पर्न थाल्यो । मुख्य हमलाकारी मानिएका ओसामा बिन लादेन र अलकायदाका लडाकूलाई तालिवानले शरण दिइरहेको आरोप लाग्यो । 

त्यसलगत्तै, अक्टोबर ७ मा अमेरिकी नेतृत्वको सैनिक गठबन्धनले अफगानिस्तानमा हमला गर्यो । र, डिसेम्बरको पहिलो साता तालिवानको शासनकै अन्त्य भयो । 

तीव्र खोज अभियान चल्दा चल्दै लादेन र तत्कालीन तालिवान प्रमुख मुल्ला मोहम्मद उमरसहित अन्य थुप्रै लडाकू अफगानिस्तानबाट भाग्न सफल भए । तालिवान गुटका कतिपय पाकिस्तानको क्वेटा सहरमा लुकेर हमला जारी राख्न निर्देशन दिन थाले । तर, पाकिस्तानले भने क्वेटामा तालिवानी रहेको आरोपको निरन्तर खण्डन गरिरह्यो । 

अमेरिका-तालिवान सम्झौता
सन् २००१ मा आफ्नो हारपछि तालिवानले पहिलो पटक कुनै प्रान्तमा आफ्नो नियन्त्रण कायम गर्न सफल भयो, रणनीतिक हिसाबमा महत्वपूर्ण मानिएको कुन्दुज सहर उसले नियन्त्रणमा लियो । मुल्ला मन्सुरको अमेरिकी ड्रोन हमलामा २०१६ मा मृत्यु भएपछि संगठन मौलवी हिब्तुल्लाह अंखुजादाको हातमा गयो । अहिले पनि तालिवानी प्रमुख नेता उनै छन् । 

सन् २०२० फेबु्रअरीमा अमेरिका र तालिवानबीच शान्ति सम्झौता भयो । थुप्रै पटक कुराकानी भएपछि सम्झौता हुन सकेको थियो । त्यसपछि पनि तालिवानले सहर तथा सैनिक क्याम्पमा हमला गर्न छाडेनन्, तिनले विशेषखालका व्यक्तिमाथि पनि आक्रमण सुरु गरे । यस्ता हमलाका कारण अफगानी जनता आतंकित छन् । 

फगान सरकारलाई तालिवानी खतरा
पछिल्लो समय तालिवानले पत्रकार, न्यायाधीश, शान्ति कार्यकर्ता तथा प्रभावशाली पदमा रहेका महिलामाथि हमला गर्न थालेका छन् । यसबाट के बुझ्न सकिन्छ भने, तालिवानले आफ्नो रणनीतिमात्रै फेरेका हुन्, कट्टरपन्थी विचारधारा होइन ।

अफगान अधिकारीहरु अन्तर्राष्ट्रिय मद्दतबिना तालिवानीलाई नियन्त्रण गर्न नसकिने बताइरहेका छन् । अफगान सरकारलाई यस्तो सहयोग भएन भने अस्तित्व जोगाउन कठिन हुने उनीहरुको भनाइ छ । तर, यही अप्ठेरोका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले गत अप्रिलमा सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिक फिर्ता गरिने घोषणा गरिदिए । 

दुई दशक चलेको युद्धमा अमेरिकी महाशक्तिलाई छक्याएपछि तालिवानले ठूल्ठूला क्षेत्रमा कब्जा गर्न सुरु गरेका छन् । अब अमेरिकी सेना फिर्ताका कारण काबुलमा सरकार कमजोर पार्न तालिवानलाई सहज हुने देखिएको छ । 

के मानिँदै छ भने, सन् २००१ पछि तालिवान अहिले निकै मजबुत देखिएको छ । नेटोको आँकलन अनुसार, तालिवानी लडाकूको संख्या अहिले करिब ८५ हजार पुगेको छ । 

अहिले तालिवानले कति क्षेत्रमा नियन्त्रण हासिल गरेको छ भन्ने यकिन नभए पनि देशको पाँच हिस्सामध्ये एकतिहाइमा उसको पकड रहेको अनुमान छ । तालिवान जुन गतिमा मजबुत बन्दै गएको छ, त्यसले अफगान नागरिकमा चिन्ता उसैगरी बढेको छ । 

अफगानिस्तानमा अमेरिकी सैनिकको नेतृत्व गरेका मिसन कमान्डर जनरल अस्टिन मिलरले जुन महिनामै देशमा गृहयुद्धको खतरा बढेको चेतावनी दिएका थिए । जासूसी संयन्त्रले पनि अफगानिस्तानको हालत निकै खराब बन्ने बताएको थियो । अमेरिकी सैनिक फिर्ता भएको ६ महिनाभित्र अफगानिस्तानको सरकार ढल्ने अनुमान गरिएको छ । 

(एजेन्सीहरुको सहयोगमा

तस्बिरहरुः अलजजिराबाट

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board