काठमाडौं, ३० साउन । बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना पोर्चुगलमा पक्राउ परेका छन् ।प्रहरीले नक्कली कागजात बनाएर बैंकबाट ऋण लिई ठगी गरेको आरोपमा एक जनालाई पोर्चुगलबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार काभ्रे भुम्लु गाउँपालिका १ का ४३ वर्षका केदार ढुंगानालाई पोर्चुगलमा पक्राउ गरी साउन ३० गते नेपाल ल्याइएको हो ।
ढुंगाना सवारी दर्ता प्रमाणपत्र नक्कली बनाएर तत्कालिन देव विकास बैंकबाट २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण लिएको आरोप लागेकामध्ये एक हुन् ।
जिल्ला अदालत ललितपुरले नक्कली कागजातका आधारमा ऋण लिएर लिखतसम्बन्धी कसूर गरेको अभियोगमा ढुगानासहित १२ जनालाई दोषी ठहर गर्दै १ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
हाल ढुंगानासहितका व्यक्तिहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी ५ वटा मुद्दा र उच्च अदालत पाटनमा बैंकिङ कसूरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन रहेको जनाइएको छ। ढुंगानालाई भोलि अदालतमा उपस्थित गराउने प्रहरीको तयारी रहेको बताइएको छ ।
प्रतिक्रिया