काठमाडौँ , २९ साउन । नेकपा माओवादी केन्द्रकी नेतृ तथा प्रतिनिधिसभा सदस्य धर्मशीला चापागाईँले डिकेन्द्र राजवंशीले बल्खु पार्टी कार्यालयमा आत्महत्या गर्न पर्नुको कारण के थियो ? भन्दै पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रश्न गरेकी छिन् । प्रतिनिधिसभामा सम्बोधनका क्रममा ओलीले जनयुद्धका क्रममा घाइते भएकाहरुको उपचार आफू गर्न तयार रहेको भन्दै थापाथलीस्थित पार्टी कार्यालयमा पठाइदिन भनेपछि चापागाईँले ओलीलाई यस्तो प्रश्न गरेकी हुन् । आफूले लिनुपर्ने दायित्व नलिएको तर जनयुद्धका क्रममा घाइतेहरुको उपचार गर्ने अमिल्दो कुरा ओलीले गरेको उनको भनाइ छ ।
केही दिन अगाडि केपी शर्मा ओलीले सदनमा बोल्ने क्रममा जनयुद्धका क्रममा घाइते भएकाहरुलाई यदि उपचार पाउनु भएन भने मेरो पार्टी कार्यालयमा आउनु भन्नुभयो । मलाई के याद छ भने उहाँसँगै जेलनेल बसेका साना दुर्गा अधिकारी, मानकुरमा तामाङहरु कहाँ छन् सायद उनलाई थाहा छ ? त्यसैगरी धर्मप्रसाद घिमिरे हिजो संविधानसभा सदस्य पनि हुनुहुन्थ्यो । उहाँ गम्भीर बिरामी हुँदा प्रधानमन्त्री (त्यतिबेला केपी ओली नै प्रधानमन्त्री) समक्ष उहाँको परिवारले आर्थिक सहायताका लागि अनुरोध पनि गर्यो तर हात लाग्न सकेन । उनको उपचार अभावले निधन हुन पुग्यो । त्यो भन्दा गम्भीर स्थिति डिकेन्द्र राजवंशीले बल्खु पार्टी कार्यालयमा आत्महत्या गर्न पर्नुको कारण के थियो ? म यो जान्न चाहन्छु । तर आज उहाँ जनयुद्धका क्रममा घाइते भएकाहरुलाई मेरो पार्टी कार्यालयमा आउ भन्दै हुनुहुन्छ ।’
प्रतिक्रिया