“अफगानिस्तानमा कार्यरत नेपालीहरुको सुरक्षाबारे नेपालमा चिन्ता “


काठमाडौं, २९ साउन ।  सरकार र तालीबानी विद्रोहीबीच युद्ध चलिरहेको अफगानिस्तानमा कार्यरत नेपालीहरुको सुरक्षाबारे नेपालमा चिन्ता बढ्न थालेको छ । पूर्व गृहमन्त्रीसमेत रहेका एमाले सांसद खगराज अधिकारीले विहीबार संसदमा बोल्ने क्रममा अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार नगरिए संसदै चल्न नदिने चेतावनी दिएपछि यो विषयले थप चर्चा पाउन थालेको छ

। उनले संसदमा अफगानिस्तानमा द्वन्द्व बढीरहेकोले त्यहाँका नेपालीलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अधिकारीले अफगानिस्तानबाट नेपाली ल्याउन सरकारले चासो नदेखाएको आरोप लगाए । उनले अफगानिस्तानमा अलपत्र रहेका नेपालीहरुलाई तत्काल उद्धार गर्न माग पनि गरे । उनले भने नेपालीहरुको मन दुखेको छ । सबै देशले आ–आफ्ना नागरिकको उद्धार गरिरहेको छ । नेपालीहरु ल्याउने काम सरकारले गर्छकी गर्दैन । यो निकम्मा सरकाले गर्न सक्छकी सक्दैन । नेपालीहरुको जीउ ज्यान जोगाउन सक्छकी सक्दैन ।

तुरुन्त नेपालीहरुलाई अफगानिस्तानबाट रेस्क्यु गरेर ल्याउने काम गरोस् । होइन भने यो सरकार नालायक छ भनेर यो सांसदमा जोडदार माग गर्न चाहान्छौं । यस्तै उनले अफगानिस्तानबाट नेपाली नफर्किएसम्म सरकारले संसदमा काम गर्न नसक्ने चेतावनी दिए । युद्धरत अफगानिस्तानमा करिब एक हजार भन्दा बढी नेपालीहरु कार्यरत छन् ।

विशेष गरी त्यहाँ अमेरिकी सेनाको मातहतमा रहेको ग्रिन जोनमा सुरक्षा गार्ड र स्वास्थ्यकर्मीका रुपमा नेपालीहरु कार्यरत छन् ।अफगानिस्तानमा कति नेपालीहरु कार्यरत छन् भन्नेबारे आफूले सरकारसँग तथ्यांक मागेको पूर्व गृहमन्त्री अधिकारीले बताए । उनले भने ‘मैले तथ्यांक मागिरहेको छु, अहिलेसम्म प्राप्त जानकारी अनुसार त्यहाँको ग्रिन जोनमा एक सय भन्दा बढी नेपाली स्वास्थ्यकर्मीहरु रहेको पाइएको छ ।’भारत, अमेरिकालगायत विभिन्न देशले आफ्ना नागरिकहरु अफगानिस्तानबाट फिर्ता ल्याइरहेको अवस्थामा नेपाल सरकारले पनि चाँडै आफ्ना नागरिकहरुको उद्धार गर्नुपर्ने भन्दै अधिकारीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

अफगानिस्तानको अधिकांश भूभाग त्यहाँको तालिबानी विद्रोहीले आफ्नो कब्जामा लिइसकेको छ । यस्तो अवस्थामा कुनै पनि बेला राजधानी काबुलसमेत युद्धको चपेटामा पर्ने खतरा बढ्दो छ ।
अमेरिकाले यही अगस्ट महिनामा अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता लैजाने निर्णय गरेका कारण ग्रिन जोनमा काम गरिरहेका नेपालीहरुको रोजगारी गुम्ने र सुरक्षामाथि नै गम्भीर खतरा उत्पन्न हुन सक्ने अवस्था आएको हो ।अफगानिस्तानको काबुलमा ०७३ साल असारमा बम विस्फोटनमा परेर नेपालीहरुले अनाहकमा ज्यान गुमाउनुपरेको थियो । अहिले पनि त्यहाँको अवस्था दिनानुदिन बिग्रँदै जाँदा पनि सरकारले गम्भीरततापूर्वक ध्यान दिएको देखिँदैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board