काठमाडौं, २८ साउन । किर्तिपुर नगरपालिका वडा नं. ७ बस्ने डोटीको केआईसिंह गाउँपालिका–६ घर भएका भट्टले आफुलाई उपराष्ट्रपति कार्यालयको ‘शाखा अधिकृत’ र परराष्ट्र मन्त्रालयको ‘सह–सचिव हुँ’ भनेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । ठग्नका लागि भट्टले निजामती कर्मचारीको पोशाक दुरुपयोग गर्ने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनि प्रक्राउ परेपछि थप रहस्य खुलेको छ । २६ वर्षीय भट्टले नेपाली सेनाका एकजना कर्णेलसँग ‘सरकारी अधिकृत’कै हैसियतमा चिनापर्ची गरेका थिए । भट्टले कर्णेलसँग फोटोसमेत खिचाए । उपराष्ट्रपति कार्यालयबाट तीन वर्षे अध्ययन बिदा लिएर ‘क्यालिफोर्निया जाँदैछु’ भनेका थिए । छोटो चिनजानमा ती कथित‘अधिकृत’ले नेपाली सेनाका कर्णेललाई प्रस्ताव राखे– ‘चितवनमा काका दुर्घटनामा पर्नुभयो, एयर एम्बुलेन्सबाट दिल्ली लानुपर्ने भयो । उपचारका गर्न १५ लाख लाग्ने रहेछ मसँग १४ लाख छ, मलाई एक लाख तुरुन्तै पाऊँ न सर । बाँकी कुरा पछि गरौँला ।’
कर्णेललाई शङ्का लाग्यो । उनले उपराष्ट्रपति नन्दबहादुर पुनका एडीसीलाई फोन गरेर सोधे, ‘केशवराज भट्ट त्यहाँ कार्यरत सरकारी अधिकृत हुन् ?’
जवाफ आयो– ‘यहाँ सो नाम गरेका कर्मचारी छैनन् ।’फोटो हेर्दा पनि पुष्टि भएन । र, तत्कालै यो सूचना महानगरीय अपराध महाशाखामा पुग्यो । महाशाखाले एक महिना अनुसन्धान गरेर अहिले केशवराज भट्ट उर्फ कुशललाई पक्राउ गरेको थियो ।
सरकारी कर्मचारीको आवरणमा हिँड्ने भट्टले सामाजिक सञ्जाल (फेसबुक) लाई माध्यम बनाएर ठग्ने गरेको प्रहरीको भनाइ छ । ठगिसकेपछि सम्पर्कविहीन हुनका लागि उनी भन्थे– ‘क्यालिफोर्नियामा स्कलरसिप पाएको छु, अब छिट्टै जान्छु ।’
‘शाखा अधिकृत’ बनेर लिभिङ टुगेदर
एक वर्षअघि फेसबुकबाट चिनजान भएकी एक युवतीलाई भट्टले ‘उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ’ भनेर आकर्षित गराए । युवतीको स्कुटरमा बेला–बेला उनी उपराष्ट्रपति कार्यालय अगाडि छाड्न र लिन बोलाउँथे ।
विवाह गर्ने सर्तमा शाखा अधिकृतको तयारी गरिरहेकी ती युवती भट्टसँग लिभिङ टुगेदरमा बसिन् । युवतीसँग भट्टले भनेका थिए, ‘असोजमा विवाह गरेर अमेरिका जानुपर्छ, मैले सीए पढ्न क्यालिफोर्नियामा स्कलरसिप पाएको छु ।’ भट्टलाई प्रहरीले पक्राउ गरेपछि सुरुमा त उनले पत्याइनन् । तर, यथार्थ त्यही नै थियो ।
प्रहरी जवान पनि ठगिइन्
भट्टले आफ्ना बुवा सिङ्गापुर प्रहरीमा एसपी पदमा कार्यरत रहेको गफ दिने गरेका थिए । सेतो सर्ट र नीलो सुट लगाएर हिँड्ने उनी बिना हिचकिचाहट भन्थे– ‘म अधिकृत हुँ ।’यही आवरणमा उनले सशस्त्र प्रहरी बलमा कार्यरत जवानलाई पनि ठगेको थाहा भएको छ । फेसबुकबाट सम्पर्क भएकी जवानसँग उनले ३० हजार नगद लिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । ती जवानलाई उनले ‘बिहे गर्छु’ भनेर आश्वासनसमेत दिएका थिए ।
महिलाहरूसँग उनी ‘अविवाहित हुँ’ भन्थे । तर, उनी विवाहित रहेको खुलेको छ । अपराध महाशाखाका डीएसपी दुर्गाराज रेग्मीका अनुसार डोटीमा उनका श्रीमती, एक छोरी र एक छोरा छन् ।
२०७५ चैत २६ मा पनि महाशाखाले भट्टलाई पक्राउ गरेको थियो । साइबर अपराध र ठगी मुद्दामा उनी १ वर्ष जेल बसेर ३० हजार जरिवाना तिरेर रिहा भएका थिए ।
COMMENTS