अबको चार महिनामा सबै नागरिकलाई खोप दिने गरी व्यवस्थापन गर्न सांसदहरुको आग्रह

काठमाडौं, २८ साउन । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले कोराना भाइरसविरुद्धको खोपका लागि चैतसम्म नपर्खिन सरकारलाई आग्रह गरेका छन् । स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरस संक्रमणको अवस्था, त्यसलाई न्युनीकरण गर्न सरकारले बनाएको योजना, खोप अभियानको विषयमा जानकारी गराएका थिए ।

उनले असोज मशान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुने समते बताएका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा कोभिड १९ विरुद्धको खोप प्राप्त भएको जानकारी दिए । उनले असोज मशान्तसम्म १ करोड २ लाख प्राप्त हुने र माघ मशान्तसम्ममा ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुने बताए । त्यस्तै माघ महिनासम्ममा ५ करोड २३ लाख मात्रा उपलब्ध हुनेपनि उनले बताउ । ‘हालसम्म प्राप्त भइसकेको १ करोड ८ लाख ६० हजार १ सय ७०, प्रक्रियामा रहेको खोप ३ करोड ३६ लाख ७१ हजार ९ सय ५०, जसमध्ये असोज मसान्तसम्म १ करोड २ लाख प्राप्त हुने, माघ मसान्तमा ३ करोड २३ लाख थप प्राप्त हुने, माघसम्म आपुर्ति हुने अनुमान ५ करोड २३ लाख डोज खोप उपलब्ध हुने उनले बताए । उनले चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको योजना रहेको र त्यस अनुसार तयारी अघि बढिरहेको बताएका थिए । तर सांसदहरुले भने कोरोना खोपका लागि चैतसम्म नपर्खिन आग्रह गरे ।

दशैं–तिहारजस्तो चाडपर्वमा मानिसहरु धेरै आवतजावत गर्ने हुनाले कोरोना संक्रमण बढ्न सक्ने भन्दै उनीहरुले दशैंअघि नै खोप दिन आग्रह गरे । दशैंअघि नै कोरोना खोप दिन नसकेमा तेस्रो लहर भयावह बन्न सक्ने सांसदहरुले बताए ।सांसद खेमप्रसाद लोहनीले अबको चार महिनामा सबै नागरिकलाई खोप दिने गरी व्यवस्थापन गर्न आग्रह गरे । ‘अब खोप प्रशस्त आउँछ । अब सरकारले नागरिकलाई कमसेकम एक खोप त लाऊ भन्नेछ’ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने ।

‘कोरोना खोप चैत मशान्तसम्ममा भन्ने यहाँ पनि आयो, धेरै ठाउँमा आएको छ । यो धेरै ढिलो हुन्छ । अहिले चैत भन्यौं भने असार जान्छ । त्यसकारण अबको चार महिनामा खोप लगाउने व्यवस्थापन गरौं’ उनले भने । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकारले खोपका लागि गरेको काम प्रसंसायोग्य नै रहेको तर, व्यवस्थापन कमजोर भएको बताए । ‘व्यवस्थापन किन यति कमजोर ?’ थापाले प्रश्न गरे ।काठमाडौं उपत्यकामा कोरोना संक्रमण न्युनीकरण गर्नका लागि भनेर राति ८ बजेपछि यातायात सञ्चालनमा रोक लगएको छ । सांसद थापाले कोरोना साँझ र राति बढ्दै जाने दिउँसो घट्ने यसको वैज्ञानितक तथ्य के हो ?भनी प्रश्न गरे । सांसद रामकुमारी झाँक्रीले खोप केन्द्रको व्यवस्थापन चुस्त हुन नसकेको बताइन् । ‘खोपका लागि मान्छेहरुलाई लाइनमा राखिएको छ । खोप कार्डमा रि म्यानेजमेण्ट गर्ने हो कि ?’ उनको सुझाव छ ।पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले निशुल्क भनिएको कोरोना उपचारका लागि नागरिकले महंगो शुल्क तिर्नुपरिरहेको भन्दै सांसदको ध्यानाकर्षण गराए ।सांसद कृष्णकुमार राईले होटल रेष्टुरेन्टमा समेत कोरोना खोप भेटिएको भन्दै सरकारको जवाफ मागे ।सांसद रामबहादुर विष्टले नेपालले पैसा तिरिसकेको भनिएको खोप भारतबाट आउँदैछ कि आउँदैन ? भनी सोधे ।सांसद महेश बस्नेतले विद्यार्थीको परीक्षा स्वास्थ्य मापदण्ड पालना नगरी किन लिइएको ? भनी प्रश्न गरे । उनले खोप लगाएको प्रमाणपत्र लिन लाइन लागेको विषयमा सरकारको जवाफ मागे ।

जवाफमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकार सबै कोणबाट कोरोनाको महामारी न्युनीकरणमा लागिरहेको र लाग्ने बताए । अब कोरोना खोप पर्याप्त आउने पनि विश्वास दिलाउन खोजे । ‘अब खोप प्रशस्त आउँछ । अब सरकारले नागरिकलाई कमसेकम एक खोप त लाऊ भन्नेछ’ उनले भनेका छन् ।उनले अनुदान र खरिद गरेर पनि खोप ल्याउने पहल जारी रहेको र कतिपय सुनिश्चित भइसकेको पनि बताएका छन् । अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको त्यसमध्ये ४२ लाखलाई लगाइएको जानकारी दिए ।

यस्तै, नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्‍याएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । र हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको उल्लेख गर्दै उनले असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको पनि बताएका छन् ।अब सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५÷१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने मन्त्री श्रेष्ठले बताएका छन् ।तर, एकैपटक धेरै खोप ल्याएर भण्डारण गर्ने नेपालको क्षमता नरहेको उनले बताए । ‘हाम्रो खोप भण्डारण २५ लाखभन्दा छैन’ उनले भने, ‘यसकारण ल्याएर द्रुतगतिमा लगाउने नै विकल्प हो ।’यस्तै, मन्त्री श्रेष्ठले मेलम्ची बाढी पीडितका लागि तत्काल खोप व्यवस्था हुने पनि बताएका छन् । ‘म भोलि पर्सिका दिनमा मेलम्चीका जनतालाई पुर्ण रुपमा खोप लगाउने प्रतिवद्धता जाहेर गर्न चाहन्छु’ उनले भने ।सांसदहरुले होटलमा, नेताको घरमा र मम पसलमा समेत खोप भेटाइएको भनी सोधेका प्रश्नको जवाफ दिँदै उनले खोप दुरुपयोग गरेको पाइए कारवाही हुने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति