मैले महाधिवेशन गर्ने भइसकेपछि तिमीहरु जस लिन आएका हौ भन्दै देउवाले हकारे

काठमाडौं, २८ साउन । ‘सबल काँग्रेस निर्माणका लागि युवा अभियान’ले प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण बुझाउँदै महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।महाधिवेशनको समय सीमाको अन्तिम क्षणमा पुगिसक्दा पनि क्रियाशील सदस्यता छानविन गरी अन्तिम रुप दिन नसक्नुले नेतृत्वको महाधिवेशनप्रतिको प्रतिवद्धता र नियतमाथि प्रश्न उठ्न थालेको भन्दै उनीहरुले क्रियाशील सदस्यता विवादकै बीच विभिन्न जिल्लाका कार्यकर्ता पार्टीको केन्द्रीय कार्यालयमा धर्ना र अनसनमा बसिरहेको परिस्थितिप्रति पनि ध्यानाकर्षण गराएका छन् ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘विधिवत् रुपमा महाधिवेशन सम्पन्न नहुने, नेविसंघ, तरुण दल लगायत भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको पूर्णता र महाधिवेशन पनि वर्षौँदेखि नगर्ने हो भने नेपाली काँग्रेसको लोकतान्त्रिक छविलाई जनस्तरमा कायम राख्न र नयाँ पुस्ताको ऊर्जा अभिप्रेरित गर्न नसकी आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्ने संयन्त्र निष्प्रभावी रहने हुँदा संकटबाट लोकतन्त्र र काँग्रेसलाई जोगाउन सम्पूर्ण पुस्ताको सहभागितासहितको महाधिवेशन सुनिश्चित गरियोस् ।

’दीपक भट्टराई, रञ्जित कर्ण, शिव रिमालसहितका युवा नेताको टोलीको ध्यानाकर्षणपत्र सुनेपछि सभापति देउवाले ‘हल्ला नगर’ भन्दै हकारेर फर्काएका छन् । ‘मैले महाधिवेशन गर्ने भइसकेपछि तिमीहरु जस लिन आएका हौ,’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘ठिक छ, महाधिवेशन हुन्छ । महाधिवेशनको तयारी भइरहेको अवस्था छ । हल्ला नगर ।’

कांग्रेसले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्ने भनेको छ। तर अहिलेसम्म पनि तल्ला तहका अधिवेशन नभएको भन्दै महाधिवेशन मंसिरमा सार्ने तयारी भइरहेको छ।

साउन १२ मा हुने भनेको वडा अधिवेशन क्रियाशील सदस्यता विवाद समाधान हुन नसक्दा अझै कहिले गर्ने भन्ने टुंगो छैन।

कांग्रेसले ८ लाख ५२ हजार क्रियाशील सदस्य बनाएको छ।

बारा, सप्तरी, रसुवा, सिन्धुपाल्चोकलगायत जिल्लामा अझै क्रियाशील सदस्यता विवाद छ। करिब एक सय वडामा क्रियाशील विवाद टुंग्याउन बाँकी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति