न्यायपालिकामाथि दोष दिने काम नगर्न प्रधानन्यायाधीशको आग्रह

काठमाडौं, २७ साउन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गरेका छन् ।प्रधानन्यायाधीश जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने तर्क समेत गरे ।

नेपाल कानुन व्यवसायी परिषदले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्याय पालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ नरहेको बताए । उनले भने, ‘न्यायपालिकाले गर्ने सबै फैसलाहरु समाज र नागरिकसाग अभिप्रेरित हुन्छ । र समाजलाई हेरेर नै जहिले पनि न्यायपालिकाले फैसला गरिरहेको हुन्छ । न्याय पालिकालाई निरन्तर अघि बढिरहन दिनु पर्दछ । अथवा न्यायपालिकालाई दोष पनि दिनु हुन्न । र महत्व पनि दिनुहुन्न । यो आफै महत्वपूर्ण निकाय हो । यसले नागरिकलाई जहिले पनि माग निर्देशन गर्दछ । नागरिकभित्र देशका सबै नागरिकहरु राष्ट्रपतिदेखि सबै पर्दछन् । देशका सबै निकायहरु यसै अन्तर्गत पर्दछन् ।’

प्रधानन्यायाधीश जबराले आफूले कहिल्यै पनि दबाब र प्रभावमा परेर फैसला गर्ने नगरेको दाबी समेत गरे ।कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षाका निम्ति सर्वोच्च अदालतले पछिल्लो समयमा खेलेको भूमिका विश्वकै लागि उदाहरणीय भएको बताए । उनले कानुनी राज्यको स्थापना गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा सबैलाई लाग्न पनि आह्वान गरे ।

मन्त्री कार्कीले मुलुकको समृद्धि र विकास सबैको चाहना भएको उल्लेख गर्दै त्यसमा हरेक क्षेत्रको योगदानको आवश्यक्तामा पनि जोड दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति