सरकारले ६० हजार विद्यार्थीलाई कोभिड खोप उपलव्ध गराउने

काठमाडौं, २७ साउन। सरकारले त्रिभुवन विश्वविद्यालयका विभिन्न संकाय र त्यसका तहमा परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीलाई कोभिड खोप उपलव्ध गराउने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सचिव स्तरीय निर्णय गर्दै परीक्षा दिने क्रममा रहेका ६० हजार विद्यार्थीलाई खोप उपलव्ध गराउने भएको हो ।

तर, खोप लिनका लागि विद्यार्थीहरुले परीक्षाका लागि वितरित प्रवेश पत्र देखाउनु पर्ने हुन्छ ।स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तका खोप शाखा प्रमुख डा झलक गौतमले आजको निर्णय पछि त्रिवि अन्तरगर्तका विभिन्न संकाय र तहमा परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुले खोप पाउने बताए ।‘कतिपयले विद्यार्थी परिचय पत्र लग्नु होला । तर त्यसले भने खोप पाईदैन । यो परीक्षार्थीहरुलाई मात्रै उपलव्ध गराईने हुनाले परीक्षाकै प्रवेश पत्र अनिवार्य रुपमा चाहिन्छ,’ उनले भने ।सोमबार मात्रै सत्ता पक्षका पाँच विद्यार्थी संगठनले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षा दिन लागेका विद्यार्थीहरुलाई त्यसअघि नै खोप उपलव्ध गराउन माग गरेका थिए ।राज्यमन्त्री श्रेष्ठले त्यसबेला आफू विद्यार्थीको मागमा सकारात्मक रहेको भन्दै दुई दिन पर्खन भनेका थिए ।

उनैको निर्देशन पछि आज सचिवस्तरीय निर्णय भएको मन्त्रालय स्रोतको भनाई छ ।डा गौतमले विद्यार्थीहरुलाई पहिलो डोज कहिलेबाट सुरु गर्ने भन्ने जिल्लाहरुले योजना गर्ने बताए ।‘सकभर छिटो गर्नुहोला । हामीले पनि आजै सबै प्रदेशहरुलाई पत्र मार्फत यस सम्वन्धी जानकारी गराउँदै छौँ ।प्रदेशहरुले जिल्लासंग समन्वय गरि खोप सञ्चालन गर्ने मिति तय गर्ला । तर सकभर छिटो नै हुन्छ,’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति