चर्चामा कुलमान : ‘बेथानको ध्वाँसो देखि काठमाडौंको लोडसेडिङसम्म’

बुटवल, २७ साउन । रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेको एकजना सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएको छ । देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ता कुलमान घिसिङ, ‘गाउँमा टुकी बालेर पढ्थेँ । राति अबेरसम्म टुकी छेउमा बसेर पढ्दा नाकमा कालो ध्वाँसो बसेको हुन्थ्यो ।’ काठमाडौंलाई लोडसेडिङ मुक्त गराएर चर्चा कमाएमा कुलमान कुनै समय भनेको थिए ‘मैले काठमाडौं आएपछि नै हो, बिजुली देखेको ।’ विद्यालयमा सधैं प्रथम हुने कुलमानले जब काठमाडौंमा आएर बिजुली देखे, तब उनले कसम खाए– मेरो बेथान गाउँमा पनि यसैगरी बिजुली बाल्छु । अहिले उनले बेथानमा बिजुली बालिसकेका छन् । र, बेथानमात्रै हैन, देशैभरि उज्यालो बनाउने अभियन्ता बने उनि ।

कुलमान घिसिङको दैनिकी पछिल्लो २ वर्ष नेपाल विद्युत प्राधिकरणमा हाजिर गर्ने र घर जाने मात्रै थियो । चिलिमेबाट केन्द्रमा तानिएपछि उनलाई प्राधिकरणले कुनै जिम्मेवारी नै दिएन । तर, जब उनी कार्यकारी निर्देशक बनेर आए, उनले आफूले के गर्न सक्छु भनेर देखाइसकेका छन् । कुलमानले थालेको लोडसेडिङ मुक्त अभियानले चौतर्फी प्रशंसा पाइरहेको छ । आखिर को हुन् त कुलमान ? किन उनलाई नै पुन विद्युत प्राधिकरण ल्याइयो?

जहाँ लैजाउ, जता पढाऊ, सधैं प्रथम

कुलमानको प्राथमिक शिक्षा गाउँमै वित्यो । उनी सधैं स्कुल फस्ट हुन्थे । ५ कक्षा पास गरेपछि उनी दाइहरुसँग काठमाडौं आए । उनका दाजु बानेश्वरमा बस्थे र थान्काको व्यवसाय गर्थे ।

काठमाडौं आएपछि कुलमानलाई उनका दाजुहरुले झोंछेको सरकारी स्कुल बालसेवा माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गरिदिए । कुलमान त्यहाँ पनि प्रथम नै भए ।

तर, सेकेण्ड ब्वाई सिद्धार्थ बनस्थली गएपछि शिक्षकहरुले नै उनलाई पनि यति राम्रो पढाइ भएको केटो बोर्डिङ स्कुलतिरै जानु राम्रो भन्ने सुझाव दिए । दाजुहरुले उनलाई अमरआस बोर्डिङमा भर्ना गरिदिए । कुलमान त्यहाँ पनि फस्ट नै भए ।

उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल रुपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे, जुन उनको आफ्नो व्यक्तिगत करिअरका लागि टर्निङ प्वाइन्ट बन्यो

एसएलसीमा धेरैले कुलमान बोर्डमा पर्ने आश गरेका थिए । उनका सेकेण्ड ब्वाइ महेश ढकाल भने बोर्डमा परे । तर, कुलमानको ४ नम्बर पुगेन । त्यसपछि उनले अस्कल क्यापसबाट आईएस्सी गरे ।

त्यसपछि उनी छात्रवृत्तिमा भारतमा पढ्न गए । जम्सेदपुरबाट सन् १९९४ मा बीएस्सी इलेक्टिकल इन्जिनियर गरेपछि करिव ०५१ तिर उनी स्वदेश फर्केर नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियरको जागिरे भए ।

काम गर्दै पढ्ने क्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरे ।

कुलमानले ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका थिए । अहिले प्राधिकरणको एमडी भएपछि उनी त्यसैमा काम गरिहेका छन् र सफल बन्न थालेका छन् । उनको पढाइ र काम एकसाथ मिलेको छ ।

कुलमान इञ्जिनियरमात्रै होइनन्, कुशल व्यवस्थापक पनि हुन् । उनले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा इएमबीए पनि गरेका छन्, जसले व्यवस्थापनको पाटोमा पनि उनलाई विज्ञता प्रदान गरेको छ ।

कुलमानको अध्ययन नै यसैमा छ कि विद्युतको मागको क्षेत्रबाट भार कसरी घटाउन सकिन्छ ? र समग्र एकीकृत लोडको ‘रिसोर्स प्लानिङ’ कसरी गर्ने ? कुलमानको अध्ययनमा आपूर्तिमात्रै होइन कि मागको पाटोले पनि पावर जेनेरेसन गर्छ । त्यस्तै ‘पिक लोड’ घटाउन सकियो भने त्यो नै ‘डिमाण्ड साइड’ हो ।

टर्निङ प्वाइन्ट बन्यो चिलिमे

प्राधिकरणमा काम गर्दागर्दै कुलमानले चिलिमेको जिम्मेवारी पाए । जतिबेला उनी दशौं तहमा थिए । उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल रुपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे, जुन उनको आफ्नो व्यक्तिगत करिअरका लागि टर्निङ प्वाइन्ट बन्यो ।

कुलमानले अपेक्षा गरेभन्दा समयमै सफलतापूर्वक परियोजना सफल मात्रै पारेनन्, सेयर दिएर स्थानीयलाई लखपति पनि बनाए । चिलिमेमा आफूले निकै मेहनतका साथ काम गरेको भन्दै कुलमान भन्छन्,–चिलिमेमा नेपालको स्रोत साधन कसरी प्रयोग गर्न सकिन्छ भन्ने आँखा खोलेका छौं । चिलिमेले १००० मेगावाट पनि नेपालीहरुबाटै बनाउन सकिन्छ भन्ने आँट दिएको थियो ।’

चिलिमेको सेयर जनताका हातबाट दलालहरुले फुत्काउन थालेपछि घिसिङले एउटै गाउँको करिब ७ करोड रुपैयाँ बराबरको सेयर फिर्ता गराए । यो घटनाले गर्दा रसुवाका जनताले कुलमानलाई आँखाको नानीभित्र राखेका छन् ।

तर, दुर्भाग्य भनौं, कुलमान आयोजनाबाट हटाइए र प्राधिकरणको केन्द्रमा तानिए । केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएनन् । झण्डै २ वर्ष कार्यालय गएर हाजिर गर्ने र घर फर्कने दैनिकी बन्यो । अवस्था यस्तो आइसकेको थियो कि उनी राजीनामा दिने मुडमा पुगेका थिए ।

एकातिर विद्युतको चोरी र कालोबजारी भइरहेको र अर्कातिर जनतामा लोडसेडिङको मार खेप्न बाध्य पारिएको देखेपछि उनी राजीनामा दिने मुडमा पुगे । तर, सरकारले उनलाई विश्वास गरेर जिम्मेवारी दियो र उनले झण्डै २ महिनाकै अवधिमा मुलुकमा केही गर्न सकिन्छ भन्ने सकारात्मक संकेत त्यति वेला नै दिएका थिए । कुलमान घिसिङ सन् २०१६ को सेप्टेम्बरमा नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए। उनी नियुक्ति हुने वर्षमा सुख्खयाममा १८ घण्टासम्म पनि लोडसेडिङ गर्नुपर्ने अवस्था थियो। उनले नियुक्त भएको दोस्रो महिना अर्थात् २०७३ साल कात्तिक १४ (लक्ष्मी पूजा)मा काठमाडौँबाट लोडसेडिङ मुक्त गर्ने कार्य परीक्षणको रूपमा सुरु गरेका थिए। सो परीक्षण सफल भएको आधारमा २०७३ चैत १ देखि देशव्यापीरूपमा लोडसेडिङ अन्त्य गर्न उनी सफल भएका थिए।

पछिल्लोपटक केपी ओली सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍याउन नमान्दा घिसिङ बाहिरिएका थिए। लोडसेडिङमुक्त गरेको जस घिसिङ एक्लैले लिएको र प्रचण्डसँग नजिक भएको भन्दै उनलाई ओली सरकारले दोहोर्‍याएन। प्रचण्डलाई कमजोर बनाउनकै लागि ‌ओलीले जनताको विरोधलाई समेत लत्याएर घिसिङलाई निरन्तरता दिएनन्।

बरु सुरुदेखि नै ओली निकट भनेर चर्चामा रहेका हितेन्द्रदेव शाक्यलाई बिना प्रतिस्पर्धा प्राधिकरणको नेतृत्व सुम्पिएको थियो।

आफ्नो ४ वर्षे कार्यकाल सकिनै लाग्दा आफूले गरेका काम र अर्को कार्यकालका लागि नियुक्ति दिएमा गर्न सक्ने कामको सूची बनाएर प्रधानमन्त्रीलाई भेट्न तीन महिनासम्म कुर्दा पनि पालो नपाएपछि गत भदौ २८ मा घिसिङ प्राधिकरणबाट बाहिरिएका थिए।

सरकारले पुनर्नियुक्ति नदिएपछि घिसिङ नै चाहिन्छ भन्दै काठमाडौंसहित देशका विभिन्न ठाउँमा आन्दोलन नै भएको थियो। आन्दोलनमा प्रहरी हस्तक्षेप र बल प्रयोगले सहभागीहरु घाइते हुन थालेपछि घिसिङले विज्ञप्ति जारी गर्दै आन्दोलन नगर्न आग्रह गर्नुपरेको थियो। घिसिङलाई माओवादी नेता तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको नेतृत्वमा ल्याएका थिए। उनको बहिर्गमनको समयमा ऊर्जामन्त्री वर्षमान पुन थिए।

वर्तमान सरकारले उनलाई पुनः प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको छ।  घिसिङले आफूलाई विद्युत प्राधिकरणमा नियुक्त गरिएको पत्र बुधबार बुझेका छन् । उनले उर्जा मन्त्री पम्फा भुषालकै कार्यकक्षमा गएर नियुक्तिपत्र बुझेका हुन् । उनलाई उर्जा सचिव देवेन्द्र कार्कीले मन्त्रीको कार्यकक्षमा नै नियुक्तिपत्र दिए थिए । उनले दिउँसो २ बजे प्राधिकरणमा पद बहाली गर्ने कार्यक्रम रहेको छ । घिसिङ कार्यकारी निर्देशकको चारवर्षे कार्यकाल पूरा गरी भदौ ३१ मा प्राधिकरणबाट बिदा भएका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरिएको पनि मन्त्रालय स्रोतले जनाएको छ  ।

मन्त्रिपरिषद्को बैठकले यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ ।

२०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति