एमाले एकता गर्ने/नगर्ने ओलीको हातमा छ – मेटमणि चौधरी, नेता, नेकपा एमाले


नेकपा एमाले विभाजनको बिन्दुमा पुगेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा रहेको श्रोतले जनाएको छ । नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता नचाहेको र एमाले विभाजन गर्न खोजेको आरोप लगाउदै आएको छ । त्यसो त, एमाले विभाजन हुने निश्चित भएपछि नेपाल पक्ष सरकारमा जाने पनि निश्चितप्रायः भएको हो । यसै सन्दर्भमा नेपाल पेजका लागि नेपाल पक्षका सांसद मेटमणिसँग गरिएको संवादमा आधारितः

एमाले विवाद विभाजनको संघारमा छ, अब पार्टी एकता सम्भव छ या छैन ?


छैन । अब पार्टीहरुबीचमा एकता हुदैन किनकी मैले चाहेर मात्रै पार्टी एकता सम्भव छैन । या त, माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल लगायतका कार्यदलमा रहेकाहरुले चाहेर मात्र नै पार्टी एकता सम्भव छ । किनकी, केपी शर्मा ओलीले चाहे मात्र पार्टी एकता सम्भव छ । पार्टी एकताका लागि गरिएको प्रयास बालुवामा पानी खनाए सरह भएको छ ।

पार्टी विभाजन हुने नै भएपछि सरकारमा चाही कहिलेसम्म जानुहुन्छ ?

हामीले साउन २४ गतेसम्मको अल्टिमेट ओलीलाई दिएका थियौं । उहाँहरुले आफ्नो निर्णय सच्याउनुभएन । उल्टै, केन्द्रीय कमिटीको बैठकले विभिन्न सांगठानिक गतिविधिहरु अगाडि बढाएको छ । ओली हृदयदेखि नै पार्टी एकता चाहदैनन् । यस अघि पार्टी एकतालाई ख्याल गरेर हामी सरकार सञ्चालनको कार्यदलमा निष्क्रिय रहदै आएका थियौं । किनकी, पार्टी एकताका लागि त, सरकारसँगको सक्रियता विच्छेद गर्नुपथ्र्यो नि त । तर, ओली गुटले पार्टी एकता चाहेनन् अब हामी छिट्टै सरकारमा जान्छौं । केही दिनभित्रै जानेछौं ।

भनेपछि, माधवकुमार नेपाल बृहत्तर क्युनिष्ट एकता वा नयाँ पार्टी खोल्ने तयारीमा हुनुहुन्छ ?


यो हाम्रो रहरभन्दा पनि बाध्यता भयो कि, अब हामी देशभरका कम्युनिष्ट विचारधाराका शक्तिहरुको बृहत्तर एकता गरेर अघि बढ्छौं । जसमा माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादवको जसपासहितको कम्युनिष्ट एकता गरेर अघि बढ्छौं । यसो गरेमा आगामी निर्वाचनमा प्रदेश नम्बर २ मा त हामीले चुनाव जित्ने पक्का छ । यसरी हामी आगामी निर्वाचनसम्ममा नै एकता गरेर अघि बढ्छौं । अब ओली गुटमा लागेर जनतालाई के भनेर चोट माग्ने ? हाम्रोे अध्यक्षले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्नुभयो भनेर भोट माग्ने हो र ? यसकारण बृहत्तर कम्युनिष्ट एकतापछि ओली पक्षका नेताहरु पनि हामीसँगै आउनुहुनेछ । भीम रावल, यागेश भट्टराई पनि पार्टी अलग भएपछि ओली पक्षमा रहनुहुने छैन, यो कुरा क्लियर छ ।

नयाँ पार्टी गठनको प्रक्रिया केही अगाडि बढेको छ कि ?

यसका लागि नेताहरुबीचमा भेटघाट निरन्तर भइरहेको छ । यो नै एउटा प्रक्रिया हो नि । अब पार्टी अलग भएपछि नेता नेपालले कम्युनिष्टहरु एक हौं भनेर आव्हान गर्नुहुनेछ । त्यसपछि कति जनाको कमिटी बनाउने, के उद्देश्य बनाउने भन्ने छलफल हुन्छ । पार्टीको नाम, चिन्ह टुंगो लागेपछि कतिजनाको केन्द्रीय कमिटी बनाउने भन्नेबारे पनि टुंगो लाग्छ । त्यसपछि सिद्धान्त, दर्शन र विचारका विषयमा न्यूनतम साझा दृष्टिकोण बन्नेछ ।


तपाँइहरुमाथी आफ्नै पार्टीको सरकार ढालेर काँग्रेसका नेतृत्वको सरकार बनाउन सहयोग गर्नुभएको भन्ने आरोप छ नि ?


काँग्रेस नेतृत्वको यो सरकारले काम गर्छ भन्ने विश्वास लागेको छैन । जुन बेला माओवादीलाई शान्ती प्रक्रियामा ल्याउने पहलमा माधव नेपाल थिए त्यो बेला शेरबहादुर त उनीहरुको टाउकोको मूल्य तोक्दै थिए नि त । केपी ओली पनि त्यही लाइनमा थिए । यो मुलुकमा माधव नेपाल नभएको भए देश अर्कै ट्रयाक्मा जाने थियो । संविधानको धारा ७६ को ५ बमोजिम हामीले स्वतन्त्र सांसदको हैसियतमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थियौं, केही हामीले दिएनौं पनि । यो पनि पार्टी एकताकै लागि नैतिक प्रेसर होस् भनेर नै गरिएको थियो । केपी ओली महायज्ञको पुजारी जस्तो भए । घ्यु, तेल, चामल सबै स्वाह ! गर्ने । प्रचण्डसँग ५ बुँदे एकता गरेर नेकपा अध्यक्ष हुनुभयो, नेकपा स्वाह भयो । एमाले अध्यक्ष हुनुभयो एमाले नै स्वाह भयो । झण्डै दुई तिहाई बहुमतको प्रधानमन्त्री हुदा सरकार, प्रतिनिधिसभा दुई–दुई पटक विघटन भयो । कमसेकम हामीले संविधान र लोकतन्त्रका रक्षा गरेका छौं । यदि कसैले माधव नेपालको मर्म बुझ्छ भने उसले नेता नेपाललाई पूजा गर्नुपर्ने हो । अब अहिले हामी सरकारमा गएनौं भनेपनि सरकार नबन्न सक्छ । उपेन्द्र यादव जसपाल पनि सरकारमा नजान सक्छ । यसो भयो भने प्रतिनिधिसभा विघटन त हुदैन तर सरकारको कामकारबाही पनि अघि बढ्न सक्दैन । मनपरी गर्नलाई अध्यक्ष बनाएको हो र ? देशको सिस्टम नै नमान्नको लागि प्रधानमन्त्री बनाएको हो र ? संविधान त सबैलाई समानरुपमा कार्यान्वयन हुन्छ नि !

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board