मेलम्ची खानेपानी आयोजनाको प्रमुख फेरिए

काठमाडौं, २६ साउन, । कार्यभार सम्हालेको ३ महिना नपुग्दै मेलम्ची खानेपानी आयोजना प्रमुखको सरुवा भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठको गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयमा सरूवा भएको हो ।
गत जेठ ३ गते समितिमा कार्यकारी प्रमुखका रुपमा आएका श्रेष्ठको अढाई महिनामै सरुवा भएको हो । मन्त्रालय स्रोतकाअनुसार असार १ गते आएको बाढीपछि समस्याग्रस्त भएको आयोजनालाई पुनर्स्थापनाको कार्यायोजना तयार गर्दैगर्दा श्रेष्ठको सरुवा भएको हो । स्रोतका अनुसार सरकारले सरूवाको प्रस्ताव गरेपछि श्रेष्ठले आफ्नो असहमति नहुने बताएका थिए ।

मन्त्रालयले आयोजनामा नयाँ प्रमुख पठाउन छलफल थालेको छ । अहिलेसम्म खानेपानी मन्त्रीको जिम्मा प्रधानमन्त्री स्वयमले लिएकाले सचिव प्रमिलादेवी बज्राचार्यले प्रधानमन्त्रीसँग नै मंगलबार छलफल गर्दैछिन् । मन्त्रालयका एक अधिकारी अब आयोजनाबारे राम्रो जानकारी राख्ने सहसचिवलाई कार्यकारी प्रमुखका रुपमा खटाउनुपर्ने बताउँछन् । ‘आयोजना अब रुग्ण बन्यो, यसलाई पुनर्स्थापित गर्न यो आयोजनाबारे राम्रो जानकारी राख्ने वा पहिले कार्यकारी निर्देशकका रुपमा काम गरिसकेकालाई नै जिम्मा दिनु उपयुक्त हुन्छ,’ ती अधिकारीले भने,’मन्त्रालय मातहत रहेका १८ जना सहससचिव मध्येबाट सकेसम्म अनुभवी पात्र छानेमा मात्रै आयोजना तुहिन पाउँदैन ।’यसअघिका कार्यकारी निर्देशक श्रेष्ठ भने आयोजनाका लागि नयाँ थिए । सकिन लागेको आयोजना भएकाले वरिष्ठ सहसचिवहरुले रुची नगरेपछि श्रेष्ठलाई नै मेलम्चीमा पठाइएको थियो । ‘आयोजनामा कनिष्ठ सहसचिव पठाउँदा पुनर्निर्माण काम अघि बढाउन फेरि सकस पर्छ,’ ती अधिकारी भन्छन्,’आयोजनाबारे बुझेका व्यक्ति भए भने काठमाडौंमा पानी ल्याउने वातावरण छिटो बन्नसक्छ ।’

असार १ गते सुरुङको अवस्था बुझ्न र आवश्यक मर्मत गर्न भन्दै दुई महिने कार्यतालिका सार्वजनिक गरेर मेलम्चीको खानेपानी आयोजनाले सुरुङमा पानी भर्न बन्द गरेको थियो । सुरुङ बन्द गरिएकै दिनमा मेलम्ची नदीमा आएको भीषण बाढीले मेलम्चीको पानी थुनेर सुरुङमा हाल्न बनाइएको इन्टेक (मुहान) क्षेत्र पुरिएको छ । यसले आयोजनामा १ अर्ब ८८ करोड रुपैयाँको क्षति मात्रै भएन, काठमाडौंमा फेरि मेलम्चीको पानी आउँछ कि आउँदैन भन्ने आशंकासमेत बढाइदिएको छ ।तर, साउन १५ गते राति फेरि मेलम्चीका लेदोसहतिको ठूलो बाढी आएपछि भने मेलम्ची फेरि काठमाडौं ल्याउने निश्चित भाका तोक्न नसकिने भन्दै सरकारपछि हटेको छ ।प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले पछिल्लो बाढीले झन् निराश बनाएको बताएकी थिइन् । सुरुङमा पानी हाल्न नदीलाई पुरानै सतहमा फर्काउन अब सानोतिनो प्रयासले सम्भव छैन । बाढी, पहिरोको जोखिमका कारण वर्षयामभरी आयोजनाको हेडवर्क्स क्षेत्रमा जानै नसक्ने अवस्था छ । आयोजनाको हेडवर्क्स क्षेत्रमा पुग्ने पहुँच सडकसमेत बाढीले बगाएको छ ।पहिलेको नदीको सतहमा आधारित भएर सुरुङ, हेडवर्क्स र बाँध बनाइएको भन्दै ती प्राविधिकले मेलम्ची नदीले बगाएर ल्याएको माटोले नदीको सतह नै १० देखि १५ मिटरसम्म माथि उठेको छ । त्यसैले मेलम्ची आयोजनाको सुरुङ अहिले नदी बगेको ठाउँ भन्दा १५ मिटर गहिरोमा छ । बाढीले पुरिएको भाग सहजै पन्छाउन नसकिने र पन्छाए पनि यसअघि बनेका संरचना काम लाग्छ कि लाग्दैन भन्ने टुंगो छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति