जयसिंहको खोजी गर्न विशेष टोली : छानबिन टोली दार्चुलाबाट फर्कियो

काठमाडौं, २६ साउन । महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकाइदिएपछि खसेर युवक बेपत्ता भएको घटनाको छानबिन गर्न खटिएको टोली फर्किएको छ ।घटनाको छानबिनका लागि गृह मन्त्रालयले खटाएको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली सोमबार दार्चुलाबाट फिर्ता भएको हो ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टले छानबिनका क्रममा गर्नूपर्ने काम सकेर गृहको टोली फर्किएको जानकारी दिए ।

झण्डै ८ दिनसम्म दार्चुलामै बसेको टोलीले नदीमा बेपत्ता भएका व्याँस गाउँपालिका(२ का जयसिंह धामीको परिवारदेखि अन्य सरोकारावाला पक्षबीच भेटघाट गरेर छलफल गरेको थियो ।‘जिल्लास्थित विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल, पीडित परिवार र प्रत्यक्षदर्शीसँग बुझ्ने कामसँगै घटना स्थलको नेपाल र भारततर्फबाट स्थलगत निरीक्षणलगायतका काम सकेर सहसचिव ज्यूको नेतृत्वमा रहेको टोली फर्किएको छ,’ प्रहरी नायब उपरीक्षक भट्टले भने, ‘यहाँबाट फर्किए पनि बैतडी, डडेल्धुरा र कञ्चनपुरमा महाकाली नदी तटीय क्षेत्रको निरीक्षण गर्नेछ ।’१५ साउनमा भारतीय भूमिको प्रयोग गरेर सदरमुकाम खलंगा आउने बेला महाकाली नदीमा तुुइन तर्ने क्रममा भारतीय एसएसबीले डोरी फुुकालिदिएपछि खसेर व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए । उक्त घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो ।बेपत्ता धामीको अवस्था भने अझै अज्ञात छ । परिवारले उनी जिवितै भेटिने आशा मार्दै कुसको आकृति बनाएर हिन्दु संस्कारअनुसार दाहसंस्कार गरिसकेको छ ।

तर नेपाल प्रहरीसहितका तीन वटा सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता धामीको खोजी कार्य जारी राखेका छन् ।नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेका बेला प्रहरी प्रधान कार्यालयले खोजविनका लागि विशेष प्राविधिक टोली समेत खटाएको छ ।प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयको आग्रहमा धामीको खोजीमा सहयोग गर्न दुुई जना प्राविधिकसहितको विशेष टोली खटाएको हो । उक्त टोलीले अहिले महाकाली नदी क्षेत्रमा ड्रोनको प्रयोग गरेर धामीको खोजी गरिरहेको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board