एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रयास

काठमाडौं, २६ साउन ।  नेकपा (एमाले)ले आफ्नो विधानमा संशोधन गर्दै पार्टी अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव गरेको छ । यसअघि गत फागुन अन्तिम साता बसेको एमाले बैठकमार्फत विधान संशोधन गर्ने र अध्यक्षलाई शक्तिशाली बनाउने निर्णय गरेको थियो । सोही अनुसार अहिले विधान संशोधन गरेर एमालेको संरचना बदल्नुका साथै अध्यक्षलाई शक्तिशाली बनाउने गरी विधान संशोधन प्रस्ताव पारित गरेको हो ।सोमबारको केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान संशोधन मस्यौदाअनुसार एमालेको हालको संरचनामा समेत परिवर्तन हुने भएको छ । एमालेमा उपाध्यक्षको हाल संख्या पाँच छ, अब नयाँ विधानअनुसार भने उपाध्यक्ष २ जना मात्रै हुने भएका छन् । त्यस्तै सचिवको संख्या ४ बाट बढाएर सात पारिएको छ ।

नयाँ विधानअनुसार एमालेमा अब एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सातजना सचिव रहनेछन् । नयाँ विधानअनुसार एमालेमा अध्यक्ष बाहेकका पदाधिकारी केन्द्रीय कमिटीले चयन गर्नेछ । सबै तहका कमिटीमा महिलाको ३३ प्रतिशत सुनिश्चितता विधानले गरेको छ ।सोमबारको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले विगतको अनुभवले अध्यक्षलाई काम गर्न अप्ठ्यारो महसुस भएकाले अध्यक्षमात्र निर्वाचित हुने परिकल्पना गरिएको प्रतिक्रिया दिए ।

उनले पदाधिकारी र अध्यक्ष दुवै निर्वाचित भएर आउने हुँदा त्यसले क्षेत्राधिकार बाँडफाँडमा अप्ठ्यारो परेको बताउँदै केन्द्रीय समिति सदस्यहरुले अध्यक्ष र महासचिव बाहेकका पदाधिकारीलाई निर्वाचित गर्ने व्यवस्था राखेको बताए ।

‘हामीले निर्वाचनको प्रक्रियालाई केही परिष्कृत गरेका हौ’ प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘पार्टी सामूहिक नेतृत्वमै चल्छ, पार्टीको प्रमुख नेता अध्यक्ष भएकाले आवश्यकता अनुसार पनि पार्टीमा जिम्मेवारी दिनका लागि पनि यसले सहयोग पुर्याउँछ ।’ तर ज्ञवालीले यस्तो दावी गरेपनि संशोधित विधानले विगतमा पार्टीभित्र हुँदै आएको लोकतान्त्रिक अभ्यासलाई खुम्च्याउने निश्चित भएको छ ।नयाँ प्रावधानले एमालेको निर्वाचित अध्यक्षले आफूलाई मनलाग्दी गर्न पाउने देखिन्छ । जस्तोकी यो प्रावधान लागू भए अध्यक्षले जुनसुकै व्यक्तिहरूलाई पार्टीका पदाधिकारीमा ल्याउन सक्ने खतरा छ ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति