एमाले केन्द्रीय कमिटी २२५ सदस्यीय हुने, दुईजना मात्रै उपाध्यक्ष, सात सचिव, अरू पदाधिकारी यथावत् (विधानसहित)

काठमाडौं, २५  साउन ।   नेकपा एमालेको नयाँ विधानमा पार्टीको केन्द्रीय कमिटीको संख्या बढाउने प्रस्ताव पारित गरिएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले अहिले भएको १५९ सदस्यीय संरचनालाइृ बढाएर २२५ सदस्यीय हुने प्रस्ताव गरिएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘केन्द्रीय कमिटीको संरचना १५९ संरचना थियो । अब बढाएर केन्द्रीय कमिटी २२५ हुने प्रस्ताव गरिएको छ । अब पार्टीको केन्द्रीय कमिटीमा अध्यक्ष, उपाध्यक्ष २ जना, महासचिव एक, उपमहासचिव २ जना, सचिव ७ जना रहने गरी प्रस्ताव गरिएको छ,’ उनले भने, ‘केन्द्रीय कमिटी र पोलिटब्यूरो मात्रै रहने प्रस्ताव पनि गरिएको छ ।’

यसमा एमालेले अहिले भएको स्थायी कमिटी हटाउने प्रस्ताव गरेको छ । बैठकले भदौ २७ र २८ गते पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । यो प्रस्ताव स्थायी कमिटीले गरेर केन्द्रीय कमिटीले पारित गरेको हो । आगामी २७ र २८ भदौमा हुने विधान महाधिवेशनबाट पार्टीको विधान संशोधन गरिनेछ । सोमबार नै बसेको स्थायी कमिटी बैठकले निर्णय गरेर केन्द्रीय कमिटी बैठकमा प्रस्ताव पेस भएको थियो । स्थायी कमिटीको निर्णय केन्द्रीय कमिटीबाट सर्वसम्मत अनुमोदन भएको छ ।

केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम पक्ष सहभागी भएको थिएन । स्थायी कमिटी बैठकमा सहभागी गौतम आफ्नो धारणा राखेर बाहिरिएका थिए ।

एमालेको नवौँ महाधिवेशनबाट एक सय ५९ सदस्यीय कमिटी निर्वाचित भएको थियो । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव निर्वाचित भएका थिए ।

सचिव पदबाट समावेशिता कायम गर्ने निर्णय पनि एमालेले गरेको छ । केन्द्रीय कमिटी र पोलिटब्युरो रहने र सानो आकारको सचिवालय रहने गरी विधान संशोधन हुने भएको छ । हाल केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीको संरचनामा एमाले छ ।

महाधिवेशन प्रतिनिधि परिषद् प्रस्ताव गरिएको छ । राष्ट्रिय महाधिवेशनबाट प्रतिनिधि चयन भइसकेपछि पाँच वर्षसम्म कायम रहने, पहिलो वर्ष राष्ट्रिय महाधिवेशनमा भाग लिने, त्यसको दुई वर्षपछि परिषद्को बैठक हुने, त्यसमा केन्द्रीय कमिटीको कामको मध्यावधि समीक्षा गर्ने र अर्को महाधिवेशन हुनुभन्दा एक वर्षअघि परिषद् विधान अधिवेशनमा रूपान्तरण हुने ज्ञवालीले बताए ।

प्रदेश कमिटीमा पनि पदाधिकारीको प्रस्ताव गरिएको छ । एक अध्यक्ष, एक उपाध्यक्ष, सचिव एक र उपसचिव दुईजना रहने प्रस्ताव छ । जिल्ला कमिटी र पालिका कमिटीमा पनि सोही संरचना हुने ज्ञवालीले जानकारी दिए ।

महाधिवेशन पाँच वर्षमा, प्रदेश अधिवेशन चार वर्षमा, जिल्ला र पालिका अधिवेशन तीन वर्षमा र त्योभन्दा तल्लो तहको अधिवेशन दुई वर्षमा हुनेछ ।

निर्वाचन प्रणालीमा फेरबदल

एमालेले निर्वाचन प्रणालीमा पनि फेरबदल गर्ने भएको छ । महाधिवेशन र अधिवेशनले अध्यक्ष र सदस्य चुन्ने र कमिटीका अन्य पदाधिकारीलाई सम्बन्धित कमिटीले चुन्ने व्यवस्था गर्न लागिएको ज्ञवालीले बताए ।केन्द्रीय कमिटीको निर्णयमा तल्ला कमिटीमा एक महिनासम्म छलफल हुने र विधान महाधिवेशनमा प्रस्ताव पेस हुने ज्ञवालीले जानकारी दिए ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board