काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमवार बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।
पार्टीले उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल गठन गरेको थियो ।
कार्यालय सचिव शेरबहादुर तामाङले पारित गरिएको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्ने बताए ।
उनका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।
कार्यालय सचिव तामाङले अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको जानकारी दिए ।
यसैगरी केन्द्रीय कमिटी सदस्यको संख्या पनि बढाउने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी २२५ जनाको राख्ने व्यवस्था संशोधित विधानमा गरिएको उनले जानकारी दिए । पार्टीमा उपाध्यक्षको संख्या घटाउने र सचिवको संख््या बढाउने पारित विधानमा उल्लेख छ ।
स्थायी कमिटीले पारित गरेको विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।
विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइने समेत उल्लेख गरिएको कार्यालय सचिव तामाङले जानकारी दिए । उनले अहिले बस्ने केन्द्रीय कमिटीले विधान पारित गरेपछि लागू गरिने बताए ।
असन्तुष्ट माधव नेपाल पक्षको बैठक रोक्नु पर्ने मागको वेवास्ता गर्दै ओली पक्षले पार्टीष्लार्य अघि बढाएको छ । आजको यो निर्णयले पार्टीका दुई पक्षबीचको एकता झन टाढा पुगेको छ । ओली पक्षको बैठकमा माधव नेपाल पक्षीय कुनै पनि नेताहरु सहभागी भएनन् । ३ दिन अघि सम्पन्न माधव नेपाल समूहको केन्द्रीय कमिटि बेठकले सम्मानजनक एकता गर्ने निर्णय गरेको थियो । तर अध्यक्ष ओलीले माधव पक्षको कुनै पनि कुरा मान्न नसकिने स्पष्ट गरेका छन् ।
प्रतिक्रिया