काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन नगरेर निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएकोमा नेतृत्वको कडा आलोचना गरेका छन्।कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको छ तर अहिलेसम्म क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान हुन सकेका छैनन्। शीर्ष नेताले विवाद समाधान गर्ने भने पनि सभापति शेरबहादुर देउवाले समय नदिएको आरोप पौडेलले लगाएका छन्। देउवा प्रधानमन्त्री पनि भएकोले पर्याप्त छलफल गर्न समय दिन नसकेको पौडेल बताउँछन्। कांग्रेसको महाधिवेशन विधानअनुसार चार वर्षको अन्तरालमा हुनुपर्छ। २०७२ सालमा १३ औं महाधिवेशन भएको थियो। सभापति देउवाले नियमित कार्यकाल सकेर विधानअनुसार नै विशेष परिस्थितिका लागि भन्दै एक वर्ष म्याद थपेका थिए। त्यो समयमा पनि महाधिवेशन हुन सकेन। देउवाले संविधानअनुसार छ महिना म्याद थप गरेकोमा भदौ २३ मा सकिँदैछ। यो समयभित्र महाधिवेशन नभए पार्टी संकटमा पर्ने पौडेलले बताउँदै आएका छन्। उनले सोमबार बिहानै आफ्ना धारणा सार्वजनिक गर्दै महाधिवेशन नगरेर कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएकोमा कडा आलोचना गरेका हुन्। ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ। असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधानलाई समातेर छ महिना बढाइयो,’ पौडेलले भने, ‘आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ।’महाधिवेशन गर्न नसक्नुमा सभापति देउवाको चरम असफलता र लापरवाही भएको पौडेलको आरोप छ।उनले भनेका छन्, ‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरवाही अरू के हुन्छ ? यो देशकै विडम्वना हो। सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्।’सभापति देउवाले महाधिवेशनबारे छलफल गर्न साउन २८ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाएका छन्। देउवाले आफू भदौ १६ मै महाधिवेशन गराउन चाहेको पटकपटक उल्लेख गरेका छन्। तर वडादेखि प्रदेश सभा क्षेत्रीय अधिवेशनका कार्यतालिका प्रभावित बने पनि नयाँ कार्यतालिका ल्याइएको छैन।
वर्तमान नेतृत्वको चरम असफलता र लापरवाही अरू के हुन्छ ? – रामचन्द्र पौडेल
प्रतिक्रिया